दुई करोड ३३ लाखभन्दा बढी मूल्यको लागुऔषधसहित १० जना पक्राउ

काठमाडौं, असार ८ः प्रहरीले पछिल्लो दुई सातामा दुई करोड ३३ लाखभन्दा बढी बजार मूल्य रहेको अवैध लागुऔषधसहित १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि आजसम्म गरेको ८ वटा लागुऔषधविरुद्धको अपरेशनमा उनीहरूलाई पक्राउ गरी ठूलो परिमाणको लागुऔषध बरामद गरेको हो ।
ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा पाँच जना विदेशी छन् भने पाँच जना नेपाली रहेका छन् । उनीहरूको साथबाट कोकिन ३.७ ग्राम, खैरो हेरोइन १०० ग्राम, एम्फेटामाइन ४०.५० ग्राम, चरेस ७ केजी, गाँजा लगभग ५ केजी, कोडिन १६ बोतल र एलएसडी स्टिकर १० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त लागुऔषधसहित विभिन्न स्थानबाट पक्राउ गरिएकामा राज गौतम, मुखिया गुरुङ, दावा तामाङ, नरबहादुर तामाङ, सुगम मैनाली, भारतीय नागरिक सञ्जीव कुमार र हेमन्तकुमार भगत तथा विभिन्न देशका नागरिक डेभिड मिनाडो, मार्टिन शेर्ना, पावेल वेर्स्ट रहेका छन् । उनीहरूमाथि अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।











