तीनै तहका अदालतमा चाँडै न्यायाधीश नियुक्तिको तयारी
शुक्रबार कानुन पत्रकारसँगको भेटमा कार्कीले उच्च अदालतमा रिक्त न्यायाधीशका लागि रोष्टर तयार भइसकेको बताउँदै चाँडै प्रक्रिया अघि बढ्ने बताए।
काठमाडौं, असार ८ : नवनियुक्त प्रधानन्याधीश हरिकृष्ण कार्कीले तीनै तहका अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएका छन्। सुरुमा उच्च अदालतको न्यायाधीशबाट नियुक्ति थाल्ने योजनामा प्रधानन्यायाधीश कार्की छन्।
शुक्रबार कानुन पत्रकारसँगको भेटमा कार्कीले उच्च अदालतमा रिक्त न्यायाधीशका लागि रोष्टर तयार भइसकेको बताउँदै चाँडै प्रक्रिया अघि बढ्ने बताए।
न्याय परिषदले गतवर्ष २७ जना न्यायाधीशका लागि रोष्टर तयार गरेको थियो। उच्च अदालतमा ६ जना मुख्यन्यायाधीशसहित एक बर्षको विचमा रिक्त संख्या ४२ पुगेको छ।
उच्च र जिल्लाको नियुक्तिपछि सर्वोच्चका लागि प्रक्रिया अघि बढाइने भनाई कार्कीको थियो। हाल सर्वोच्चमा पाँच न्यायाधीश पद रिक्त छ।
यता, जिल्ला अदालतमा पनि ३७ पद रिक्त छन्। सर्वोचचका न्यायाधीश टंक मोक्तानले साउन २ गते अवकास लिँदै छन्। त्यसपछि सर्वोच्चमा ६ न्यायाधीश पद रिक्त हुने छ। कार्कीले बताए अनुसार सबै अदालतमा चाँडो न्यायाधीश नियुक्त हुने छन्।
न्यायाधीशको बिषयमा छलफल गर्न छिट्टै परिषद वैठक डाक्ने तयारीमा कार्की छन्। कार्कीले न्याय परिषद वैठक बसेर न्यायाधीशको बिषयमा परेका उजुरीको पनि टुंगो लगाइने जानकारी दिए। अदालतमा गोला प्रथा शुरु गरेपछि अनियमितताका गुनासा स्वतः कम भएको भनाइ उनको छ।











