Kathmandu Press

नेपाल र  क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि क्यामरुन गणतन्त्रका राजदूत स्थायी प्रतिनिधि मिशेल टोमो मोन्थेले बिहीबार संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्यूयोर्कमा समारोहमा सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे।
नेपाल र  क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडाैं, असार ८ : नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकको सङ्ख्या एक सय ८० पुगेको छ। 

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि क्यामरुन गणतन्त्रका राजदूत स्थायी प्रतिनिधि मिशेल टोमो मोन्थेले बिहीबार संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्यूयोर्कमा समारोहमा सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे।

दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाका बारेमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी गराउने संयुक्त पत्रमा दुवै राजदूतले हस्ताक्षर गर्नुभएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ। 

सो अवसरमा दुवै राजदूतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा विशेषगरी संयुक्त राष्ट्रसङ्घका मञ्चमा दुई देशको पारस्परिक हितका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचारविमर्श गरेका थिए।

पश्चिम अफ्रिकामा अवस्थित क्यामरुनमा दुई सय ४० भन्दाबढी जनजाति छन् भने दुई सय ३० भाषा बोलिन्छन्। चाड, मध्य अफ्रिकी गणतन्त्र, कङ्गो गणतन्त्र, ग्याबोन, इक्वेटोरियल गिनी र नाइजेरियासँग सिमाना जोडिएको यो मुलुकको दक्षिणपश्चिममा एट्लान्टिक महासागरको सिमाना रहेको छ। यो दुई करोड ७० लाख भन्दा बढी जनसंख्या भएको क्यामरुनको कूल क्षेत्रफल चार लाख ७५ हजार चार सय ४० वर्ग किलोमिटर छ।

सन् १९६० जनवरी १ मा स्वतन्त्र भएको यो मुलुक २० सेप्टेम्बर १९६० मा संयुक्त राष्ट्रसङ्घमा सामेल भएको हो। नेपाल र क्यामरुन दुवै असंलग्न आन्दोलन ९नाम० तथा ७७ र चीन समूहको सदस्य राष्ट्र हुन्।

प्रकाशित मिति: १४:३१ बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्