Kathmandu Press

राष्ट्रिय हितको रक्षामा सरकार संवेदनशील छ : प्रधानमन्त्री दाहाल

प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ का क्रममा सांसदले राखेका जिज्ञासाको जवाफ दिँदै उनले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सिमानाको सुरक्षा र राष्ट्रिय एकताका लागि सरकार प्रतिबद्ध रहेको बताए। 
राष्ट्रिय हितको रक्षामा सरकार संवेदनशील छ : प्रधानमन्त्री दाहाल

काठमाडाैं, असार ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितको रक्षाका सरकार संवदेनशील रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ का क्रममा सांसदले राखेका जिज्ञासाको जवाफ दिँदै उनले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सिमानाको सुरक्षा र राष्ट्रिय एकताका लागि सरकार प्रतिबद्ध रहेको बताए। 

उहाँले सीमा सुरक्षाका विषयमा सरकार गम्भीर रहेकोसमेत बताए। यसअघि नेपालमा राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र सिमानाको सुरक्षाका विषयमा बृहत्तर राष्ट्रिय एकता पैदा भएको दृष्टान्त पेस गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय हितको रक्षाका लागि सरकार संवेदनशील र निरन्तर प्रयत्नशील रहेको बताए। 

उनले अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सुदृढ र प्रभावकारी बनाउन सीमास्तम्भको नियमित मर्मतसम्भार गर्दै जाने र बोर्डर आउट पोस्टको सुदृढीकरण तथा थप स्थानमा आउट पोस्ट निर्माण गर्दै लैजाने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए। 

'सोहीबमोजिम स्रोतसाधन र जनशक्तिको व्यवस्था गरिएको छ । हालसम्म स्थापना भएका दुई सय ५० बोर्डर आउट पोस्टमध्ये एक सय २८ वटाको भौतिक संरचनाको निर्माण भएको र चालु आवसम्म थप १० बोर्डर आउट पोस्ट निर्माण सम्पन्न हुनेछ,' उनले भने। 

प्रधानमन्त्री दाहालले सदनमा शून्य र विशेष समयमा सांसदले उठाएको प्रश्नमा सरकार संवेदशील रहेको र त्यस्ता विषयको जवाफ दिइनै रहेको बताए। 'सदनमा उठाइएका प्रश्न र जिज्ञासाको जवाफ दिने जिम्मेवारी र उत्तरदायित्वबाट सरकार कहिल्यै पछि हटेको छैन । राष्ट्र र नागरिकको समग्र हित र समुन्नतिका लागि सरकार सदैव प्रयत्नशील रहँदै आएको छ,' उनले भने। 

उनले जनसरोकारका विषयलाई उचित सम्बोधन गर्दै तथा विकास निर्माणलाई गति दिँदै सरकार र नागरिकबीचको सम्बन्धलाई सुदृढ बनाउन दृढ सङ्कल्पित रहेको बताए। 

प्रकाशित मिति: १३:४८ बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्