बाढी, पहिरो र सडक दुर्घटनाप्रति ध्यानाकर्षण
सांसद देवेन्द्र पौडेलले विद्यालय कर्मचारीको सुविधा वृद्धिका लागि गम्भीर हुन माग गरे भने प्रेम सुवालले नागरिकताजस्तो विषयलाई हेलचेक्रयाइँ नगर्न आग्रह गरे।
काठमाडाैं, असार ८ : प्रतिनिधिसभाको आजको शून्य समयमा बाढी, पहिरो र सडक दुर्घटनाका कारण मुत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ।
सांसदहरु हितराज पाण्डे, एकनाथ ढकाल, राजेन्द्र बजगाईं र रामहरि खतिवडाले विपद् जोखिम न्यूनीकरणका लागि र सडक निर्माणका क्रममा पर्याप्त ध्यान नदिइएकाले यस्तो समस्या आएको बताए। उनीहरुले असार आएपछिको विकास निर्माण गर्ने प्रवृत्ति अन्त्य गर्न पनि आग्रह गरे।
बैठकको सुरुमै सांसद रामहरि खतिवडाले सडक निर्माणका नाममा जथाभावी सडक खन्ने कामले पहिरोको जाने क्रम बढ्दै गएको भन्दै सरकारले नियन्त्रण गर्नुपर्ने बताए। उनले ओखलढुंगामा शुक्रबार राति गएको पहिरोका कारण केीिको ज्यान गएको र केही बेपत्ता भएको भन्दै तत्काल राहत उद्धार र पुनःस्थापनामा ध्यान दिन आग्रह गरे।
त्यस्तै सांसद हितराज पाण्डेले गोरखामा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको र १२ जना घाइते भएको भन्दै दुर्घटना हरेक दिन हुन थालेकाले दुर्घटना रोक्न सरकारको ध्यान जानुपर्ने बताए। उनले पहाडी जिल्लाहरुमा धेरै यात्रुहरु गाडीमा रहेका कारण पनि दुर्घटना हुने गरेकाले सरकारले ध्यान दिनुपर्ने बताए। त्यस्तै सांसद राजेन्द्र बजगाईले क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटना हुने गरेको भन्दै सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताए।
सांसद देवेन्द्र पौडेलले विद्यालय कर्मचारीको सुविधा वृद्धिका लागि गम्भीर हुन माग गरे भने प्रेम सुवालले नागरिकताजस्तो विषयलाई हेलचेक्रयाइँ नगर्न आग्रह गरे।











