‘मधेस प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने कुरामा कुनै सत्यता छैन’
शुक्रबारको प्रतिनिधिसभामामा सांसद अजयकुमार चौरासियाको प्रश्नको उत्तर दिने क्रममा उनले उनले संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेसलाई दिइएको जानकारी दिए।
काठमाडौं, असार ७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने कुरामा कुनै सत्यता नभएको बताए ।
शुक्रबारको प्रतिनिधिसभामामा सांसद अजयकुमार चौरासियाको प्रश्नको उत्तर दिने क्रममा उनले उनले संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेसलाई दिइएको जानकारी दिए।
संघीय सरकारकै मातहतमा मधेस प्रदेशमा थुप्रै विकास आयोजनाहरू सञ्चालन भइरहेको पनि उनले जानकारी दिए। चौरसियाले ‘मधेसमा किन कम बजेट विनियोजन गरिएको हो?’ भन्ने प्रश्न गरेका थिए।
‘मधेसमा कम बजेट विनियोजन भयो भन्ने साँचो होइन। संघीयताको मर्मबमोजिम संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेसमै जाने गरेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यसका अतिरिक्त संघीय सरकारले पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगन्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती–कमला–चन्द्र नहरलगायत ठुला विकास आयोजनाको काम हुँदै आएको छ।’ आयोजनाहरूको कार्यप्रगति र आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले त्यहीअनुसार बजेट विनियोजन हुँदै आएको उनले स्पष्ट पारे।
प्रधानमन्त्री दाहालले पर्साको वीरगन्ज सहरको विकास सरकारको प्राथमिकतामा रहेको र नारायणी अस्पताल, ठाकुरराज बहुमुखी क्याम्पस लगायत त्यहाँको पूर्वाधार विकासमा समेत सरकारले बजेटको प्रबन्ध गरेको बताए।











