रास्वपाले घन्टी बजाएर मनायो स्थापना दिवस

काठमाडौं, असार ७ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनाव चिन्ह घन्टी बजाउँदै स्थापना दिवस मनाएको छ । स्थापना दिवसकै अवसरमा रास्वपाले बसुन्धराबाट बालाजुमा स्थानान्तरण गरेको नयाँ पार्टी कार्यालय पनि उद्घाटन गरेको छ ।
पार्टी सभापति रवि लामिछानेले घन्टी बजाएर पार्टी कार्यालयको ढोका खोलेका हुन् । प्रतिनिधिसभामा चौथो शक्तिका रुपमा रहेको रास्वपा गत वर्ष आजकै दिन राष्ट्रिय सभागृहबाट घोषणा गर्दै स्थापना गरिएको थियो।
रास्वपाको नयाँ मुख्यालय ६ तले सुविधासम्पन्न भवनमा सरेको छ । बालाजुमा मुख्यालय सारेको रास्वपाको संसदीय दल र केन्द्रीय समिति संयुक्त बैठक नयाँ कार्यालयमा बसेको छ ।

स्थापना दिवसका अवसरमा पार्टीले नयाँ कार्यालयमा चियापान कार्यक्रम पनि आयोजना गर्यो । चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरु, दलका शीर्ष नेताहरु, कलाकर्मी तथा अन्य क्षेत्रमा विशिष्ट व्यक्तिहरु पुगेका थिए। रास्वपाले अतिथिहरुलाई दही, चिउरा, मकै–भटमास, तरकारी, योमरी, हरियो मकै, काँक्रालगायत खुवाएर स्वातगतसत्कार गरेको थियो।
कार्यक्रमस्थलमा प्रवेश गर्नुअघि प्रधानमन्त्री प्रचण्डलगायत सबै पाहुनाहरुले रास्वपाको चुनाव चिन्ह घन्टी बजाएका थिए।











