Kathmandu Press

विद्यार्थीलाई डिजिटल शान्ति निर्माणबारे प्रशिक्षण

विद्यार्थीलाई डिजिटल शान्ति निर्माणबारे प्रशिक्षण

नवलपरासी, असार ७ः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाका विद्यार्थीलाई डिजिटल शान्ति निर्माणबारे प्रशिक्षण दिइएको छ । गैँडाकोटका आठ सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई इन्टरनेट चलाउँदा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिइएको हो । 

विद्यार्थीहरूलाई इन्टरनेट जडान गरिएको मोबाइल, ल्यापटप, कम्प्युटर चलाउँदा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थीलाई जानकारी दिइएको प्रशिक्षक कृष्ण सापकोटाले बताए । 

Hardik ivf

पछिल्लो समय इन्टरनेटको बढ्दो दुरुपयोगसँगै भएका विभिन्न खालका घटनाका बारेमा विद्यार्थीलाई सचेत पारिएको उनको भनाइ छ । प्रशिक्षणका क्रममा विद्यार्थीलाई भ्रामक तथा गलत सूचना, व्यक्तिगत गोपनीयता, घृणास्पद अभिव्यक्ति, अनलाइन बाल दुव्र्यवहार, साइबर बुलिङ, अनलाइन ठगीलगायतका विभिन्न विषयमा जानकारी गराइएको उनले बताए । 

गभर्नेन्स इन्टरनेसनल नेपाल (जीआइएन)का प्रशिक्षक सञ्जीव घिमिरेले पछिल्लो समय सबैजना चाहेर वा नचाहेर डिजिटल दुनियाँको हिस्सा बनेको भन्दै इन्टरनेटको प्रयोगबारे सचेत हुनुपर्नेमा जोड दिए । इन्टरनेटको माध्यमबाट डिजिटल उपकरण चलाउँदा यसको सकारात्मक प्रयोग गर्नुपर्ने घिमिरेले बताए । 

कक्षा ८ देखि १२ सम्म अध्ययनरत ६० विद्यार्थी र सात जना शिक्षकलाई डिजिटल शान्ति निर्माणबारे प्रशिक्षण दिइएको थियो । विद्यालयमा सामाजिक अध्ययन विषय अध्यापन गराउने शिक्षकहरू सहभागी रहनुभएको विजय सामुदायिक शिक्षा सदनका प्रधानाध्यापक रेखा श्रेष्ठले बताइन् । इन्टरनेटको माध्यमबाट मानिसले लिनसक्ने फाइदा तथा यसबाट हुने बेफाइदाबारे विद्यार्थीलाई बुझाउन प्रशिक्षण महत्त्वपूर्ण भएको उनको भनाइ छ । 

विजय सामुदायिक शिक्षा सदन र विजय विकास स्रोत केन्द्रसँगको सहकार्यमा गभर्नेन्स इन्टरनेसनल नेपालको आयोेजनामा प्रशिक्षण आयोजना गरिएको हो ।

प्रकाशित मिति: १९:४५ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्