बालेनलाई स्पष्टीकरण सोध्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
आज न्यायाधीश धिरबहादुर चन्दको इजलासले बालेनसँग स्पष्टीकरण माग गर्ने प्राधिकरणको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
काठमाडौं, असार ७ : उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई स्पष्टीकरण सोध्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
आज न्यायाधीश धिरबहादुर चन्दको इजलासले बालेनसँग स्पष्टीकरण माग गर्ने प्राधिकरणको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले लिखित स्पष्टीकरण सोधेको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उच्च अदालत पाटन पुगेका थिए।
त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अदालत गएका हुन्।
प्राधिकरणले काठमाडौंको सिनामंगलमा नक्सा पास नगरी भवन बनाएको भन्दै महानगरले जेठ ३२ गतेबाट काम रोकिदिएको थियाे। त्यसक्रममा नगर प्रहरीको टोलीले तारबार काटेको थियो।
सोही विषयलाई लिएर प्राधिकरणले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न लिखित पत्रचार गरेको थियो। तारबार काटिएको घटनामा महानगर प्रमुख बालेनसहित ३ जनालाई किन ऐनअनुसार कारबाही नगर्ने भन्दै प्राधिकरणले स्पष्टीकरण सोधेको थियो।
रिटमा खाली जग्गामा पार्क निर्माण गर्ने सम्बन्धमा महानगरबाट भइरहेको कार्यमा अवरोध पुग्ने गरी कुनै कार्य नगर्नू नगराउनू, पार्क निर्माण कार्य सम्पन्न हुन दिनू भनी प्रत्यर्थीको नाममा परमादेश माग गरिएको थियो।











