Kathmandu Press

कानुनमन्त्री सिंह सवार गाडी दुर्घटनाबारे छानबिन गर्न समिति गठन

आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री सिंहसहित तीन जनाको ज्यान जानेगरी बझाङको केदारस्युँ गाउँपालिकामा भएको दुर्घटनाको छानबिन गर्न समिति बनाएको हाे।
कानुनमन्त्री सिंह सवार गाडी दुर्घटनाबारे छानबिन गर्न समिति गठन

धनगढी, असार ७ : सुदूरपश्चिम सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनाका सम्बन्धमा छानबिन गर्न सात सदस्यीय समिति बनाएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री सिंहसहित तीन जनाको ज्यान जानेगरी बझाङको केदारस्युँ गाउँपालिकामा भएको दुर्घटनाको छानबिन गर्न समिति बनाएको हाे।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गंगाबहादुर खरेलको नेतृत्वमा रहेकाे सात सदस्यीय समितिको सदस्यमा प्रदेश  प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझा, मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेकबहादुर थापा, यातायात व्यवस्था कार्यालय धनगढीका  मेकानिकल इन्जिनियर र कानुन मन्त्रालयका शाखा अधिकृत विष्णुदत्त अवस्थी छन्।

दुर्घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाएर १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ।

मन्त्री सिंह सवार सुपप्र ००१ झ ४८० नम्बरको गाडी मंगलबार बझाङको केदारस्युँ गाउँपालिका-१ झारछडामा दुर्घटना भएको थियो। दुर्घटनामा परी मन्त्री सिंहसहित उनकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो।

मन्त्री सिंहका निजी सुरक्षा गार्ड दीपक भण्डारी र चालक धर्मराज जोशीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १७:२४ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्