सन्दीप लामिछानेले लिए वेस्ट इन्डिजको तेस्रो विकेट
हरारे स्पोर्टस क्लबमा जारी खेलमा सन्दीपका लागि प्रतियोगिताकै पहिलो विकेट हो। यसअघिका दुई खेलमा उनी विकेटविहीन बनेका थियाे।
काठमाडौं, असार ७ : वेस्ट इन्डिजविरुद्ध बलिङ गरिरहेको नेपालले तेस्रो विकेट लिएको छ।
आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालका सन्दीप लामिछानेले वेस्ट इन्डिजका ओपनर ब्रेन्डन किंगलाई बोल्ड आउट गरे।
हरारे स्पोर्टस क्लबमा जारी खेलमा सन्दीपका लागि प्रतियोगिताकै पहिलो विकेट हो। यसअघिका दुई खेलमा उनी विकेटविहीन बनेका थियाे। नेपालले पहिलो खेलमा जिम्बाव्वे र दोस्रो खेलमा अमेरिकाको सामना गरेका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सन्दीपले लगातार ३३ खेलसम्म विकेट लिने कीर्तिमान बनाए पनि लगातार दुई खेलमा भने विकेट लिन नसकेका हुन्।
टस जितेर पहिला बलिङ रोजेको नेपालले वेस्ट इन्डिजलाई सुरुदेखि नै दबाबमा राखेको छ। वेस्ट इन्डिज दुईपटक विश्व विजेता भइसकेको छ।
नेपालले दोस्रो ओभरमै वेस्ट इन्डिजका ओपनर केल मायर्सलाई आउट गर्दा करण केसीले विकेट झारेका थिए। पाँचौं ओभरमा वेस्ट इन्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चाल्र्सलाई गुल्सन झाले आउट गरे।











