बाढीपहिरो : एक सातामा १३ जनाको मृत्यु, २६ बेपत्ता
संखुवासभामा २० तथा ताप्लेजुङ र पाँचथरमा ३/३ जना बेपत्ता रहेको उनले बताए।
काठमाडौं, असार ७ : बाढीपहिरोमा परी एक साताको अन्तरालमा १३ जनाको मृत्यु हुनुका साथै २६ जना बेपत्ता छन्।
गृह मन्त्रालयका निमित्त सचिव तथा विपद व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थीले आज (बिहीबार) बसेको राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा वैशाख ३१ गतेदेखि जेठ ७ गते बिहानसम्म बाढी तथा पहिरोमा परी १३ जनाको मृत्यु भएको र २६ जना बेपत्ता भएको जानकारी दिएका हुन्।
गत एक सातामा ताप्लेजुङ, कास्की, भोजपुर, गोरखा, नुवाकोट र तनहुँमा मानवीय क्षति भएको उनले जानकारी दिए। संखुवासभामा २० तथा ताप्लेजुङ र पाँचथरमा ३/३ जना बेपत्ता रहेको उनले बताए।
उनका अनुसार एक सातामा बाढी र पहिरोमा परी ८ जना घाइते भएका छन् भने ४१ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन्। बाढीपहिरोको सम्भावनालाई ध्यानमा राखेर सरकारले पूर्वतयारी गरेको जानकारी पनि उनले दिए।
उनले बाढी, पहिरो, प्राकृतिक विपत्, राहत वितरण, जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायत समसामयिक विषयमा जानकारी दिँदै उद्धारसहित राहत वितरण तथा जोखिम व्यवस्थापनतर्फ प्राथमिकतासाथ काम भइरहेको पनि स्पष्ट गरे।
अघिल्लो आर्थिक वर्ष करिब रु. एक अर्ब १५ करोड बराबरको क्षतिपूर्ति तथा राहत सहयोग प्रदान गरिएको उनले बैठकमा जानकारी दिए।
प्राकृतिक प्रकोप र त्यसले पुर्याएको जनधनको क्षति, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःलाभ तयारीलगायतका समसामयिक विषयमा जानकारी लिन बोलाएको समितिको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयका तर्फबाट धारणा राख्ने कार्यक्रम छ।











