टस जितेर वेस्ट इन्डिजविरूद्ध पहिला बलिङ गर्दै नेपाल
आफ्नाे तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। खेल जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा मध्याह्न पौने एक बजे सुरु हुनेछ।
काठमाडौं, असार ७ : आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजविरूद्ध खेल्दैछ।
आफ्नाे तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। खेल जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा मध्याह्न पौने एक बजे सुरु हुनेछ।
नेपाल यसअघि पहिलो खेलमा घरेलु टोली जिम्बावेसित पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो। नेपालले दुई पटकको एकदिवसीय विश्वकप विजेता वेस्ट इन्डिजसित पहिलो पटक खेल्न लागेको हो। नेपालले समूह चरणको अन्तिम खेल नेदरल्यान्डसँग यही असार नौ गते खेल्नेछ।
जारी छनोट प्रतियोगितामा १० टोली सहभागी छन्। समूह ‘ए’ मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्ट इन्डिज तथा समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, युनाइटेड अरब इमिरेटस् ९युएई० र स्कटल्यान्ड रहेका छन्। दुवै समूहबाट शीर्ष तीन÷तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सका शीर्ष दुई टोलीले भारतमा आयोजना हुने विश्वकप क्रिकेटका लागि स्थान बनाउने छन्।
आजै अर्को खेलमा अमेरिका र नेदरल्यान्ड्स भिड्नेछन्। उक्त खेल पनि मध्याह्न पौने एक बजे सुरु हुने छ। नेदरल्यान्डले पहिलो खेलमा जिम्बावेसँग हार व्यहोरेको थियो। अमेरिका भने पहिलो खेलमा वेस्ट इन्डिज र दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो।
नेपालबाट कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले खेल्नेछन्।











