Kathmandu Press

बाढीपहिरोले विद्यार्थीको पढाइ प्रभावित

बाढीपहिरोले विद्यार्थीको पढाइ प्रभावित

ताप्लेजुङ, असार ७ः ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै आइरहेको बाढीपहिरोका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ । बाढीपहिरोका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो । 

गत शुक्रबार, शनिबार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिराले सिरिजङ्गा गाउँपालिका–८, आम्फुदीनमा रहेको कञ्चनजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ । सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत एक सय २२ विद्यार्थीका पढाइ प्रभावित भएको सिरिजङ्घा गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ । जताततै पहिरो गएकाले बाटो अबरुद्ध भएको छ । बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएकाले सिरिजङ्गा गाउँपालिकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले बताए । 

Hardik ivf

सिरिजङ्घा गाउँपालिकामा ४२ वटा विद्यालय सञ्चालनमा रहेका छन् । बाढीपहिरोका कारण अहिले गाउँपालिकाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएका छन् । त्यस्तै, सिदिङ्वा गाउँपालिकामा ३९ वटा विद्यालय छन् । सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाका अनुसार ३९ विद्यालयमा तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन् । तर अहिले बाढी पहिरोका कारण सबै शैक्षिक संस्था बन्द गरिएको उनले बताए ।

बाढीपहिराका कारण आउँदो बर्खे बिदामा मिलाउने गरी साउन ६ गतेसम्मका लागि विद्यार्थीलाई विदा दिइएको गाउँपालिकाले जनाएको छ । निरन्तर वर्षा र बाढीपहिराले गर्दा विद्यालय आउजाउमा समस्या भएकाले पाथीभरा याङ्वरक गाउँपालिकाले यही असार ८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको गाउँपालिकाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेले गाउँमा गत शनिबार राति गएको बाढीपहिरोले बगाएको चार जनामध्ये एकै घर परिवारका तीन जना अझै बेपत्ता रहेका छन् । एक जनाको सोही दिन शव फेला परेको थियो ।

सोही गाउँमा आइतबार बिहान पहिरोले तीन जना बगाएको थियो । एक घरका बाबु छोराको शव भेट्टिएको थियो भने एक जना नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर अहिले विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: १०:२३ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्