Kathmandu Press

सोह्रौँ योजनाका लागि सुझाव लिँदै आयोग

राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य तथा विज्ञसँग सुझाव लिएको छ ।
सोह्रौँ योजनाका लागि सुझाव लिँदै आयोग

काठमाडौं, असार ६ः राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य तथा विज्ञसँग सुझाव लिएको छ । '१६औँ योजना कस्तो बनाउनुपर्छ?' भन्ने विषयमा आज काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेर आयोगले पूर्वउपाध्यक्ष तथा विज्ञसँग सुझाव लिएको हो ।

आयोगले आर्थिक वर्ष २०८१र८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारीसमेत सुरु गरेको छ ।

कार्यक्रममा आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडाले आर्थिक वृद्धिको धेरै महत्वकाङ्क्षी लक्ष्य राख्न नहुने बताए । अहिलेको अवस्थामा बढीमा ७ वा ७।५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पर्याप्त हुने उनको भनाइ छ । यदि ८ प्रतिशतको लक्ष्य राख्ने हो भने निर्यातमा पूर्ण रुपमा जोड गर्नुपर्ने उनले बताए । 

पूर्वउपाध्यक्ष पृथ्वीराज लिगलले लक्ष्यअनुसारको आर्थिक वृद्धि नहुने गरेको भन्दै आर्थिक वृद्धिको लक्ष्य ठिक्क मात्रै राख्नु उपयुक्त हुने बताए । कृषि क्षेत्र धेरै ठूलो क्षेत्र रहेको भन्दै उनले यस क्षेत्रका सम्भावनालाई योजनाले समेट्नुपर्नेमा जोड दिए । पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले अनुदानको रकम दुरुपयोग रोक्ने र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बए ।

यस्तै, पूर्वउपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल, पूर्वसदस्य डा. जनकराज शाह, डा. गोविन्द नेपालले पनि योजना बनाउँदा भद्दा बनाउन नहुनेमा जोड दिए । पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले अबका योजना उत्पादनमुखी हुनुपर्ने भन्दै हरेक ठाउँको माटो परीक्षण गरेर के उत्पादन हुन्छ त्यही बालीमात्रै उत्पादन गर्ने नीति लिनुपर्ने बताए । 

त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्रकी डिन डा. कुसुम शाक्यले सहकारी र बैंकमा ठूलो रकम रहेकाले सो पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउन जोड दिनुपर्ने बताइन् । त्रिवि अर्थशास्त्र विभागका प्रमुख डा. शिवराज अधिकारीले आयोगले उत्पादन र अर्थतन्त्रमा योगदान दिने खालको योजना बनाउनुपर्ने बताए ।  

आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले संरचनात्मक रुपान्तरणमार्फत सुशासन, समृद्धि र सामाजिक न्याय हासिल गर्ने राष्ट्रिय आकाङ्क्षाका साथ सोह्रौँ योजनाको तयारी सुरु गरिएको जानकारी दिए । अर्थतन्त्रमा रहेका चुनौतीको सामना गर्दै सोह्रौँ योजनाको काम सम्पन्न गर्नुपर्ने भन्दै उहाँले विज्ञहरुको सुझाव लिएर काम अघि बढाइने बताए ।

आयोगले आज पहिलो चरणको छलफल गरेको हो । छलफल शुक्रबारसम्म जारी रहनेछ ।

प्रकाशित मिति: २०:२५ बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्