‘चलाउनेलाई आक्रमण गर्नेविरुद्ध लगाइएको मुद्दा फिर्ताकाे निर्णय तत्काल खारेज गरियाेस्’
देश बनाउने जिम्मेवारी पाएको कांग्रेस र एमाले जस्ता ठुलो पार्टीका प्रतिनिधिहरुले नै मुलुकमा दण्डहिनताको स्थिति सिर्जना गर्ने काम गर्न नहुनेमा उनले जाेड दिए।
काठमाडौं, असार ६ : एमाले सांसद योगेशकुमार भट्टराईले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्ध लगाइएको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिने क्रममा उनले मुद्दा फिर्ता गर्ने निर्णय गरेर सरकारले दण्डहीनता निम्त्याएको उल्लेख गर्दै त्यसलाई तत्काल खारेज गर्न माग गरेका हुन्।
एमाले सचिवसमेत रहेका भट्टराईले उपप्राध्यापक चलाउनेविरुद्ध ज्यान गर्ने उद्योगअन्तर्गतको मुद्दा कांग्रेसनिकट विद्यार्थी संगठनमा आबद्ध नविसंघका विद्यार्थीहरुले खेपिरहेकाे बताए। उनले भने, 'सदाचारको पक्षमा सधैं उभिने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो मुद्दा फिर्ता लिने निर्णयमा कसरी हस्ताक्षर गर्न सक्नुभयो?'
देश बनाउने जिम्मेवारी पाएको कांग्रेस र एमाले जस्ता ठुलो पार्टीका प्रतिनिधिहरुले नै मुलुकमा दण्डहिनताको स्थिति सिर्जना गर्ने काम गर्न नहुनेमा उनले जाेड दिए।
त्यस्तै एमालेका सचेतक महेशकुमार बर्ताैलाले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको आन्दोलनप्रति समर्थन जनाउदै मुद्दा फिर्ता लिने सरकारको निर्णयको विरोध गरे। उनले सामुदायिक विद्यालयका कर्मचारीहरुको माग छिटो भन्दा छिटो कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।











