राजनीतिक भागबन्डाका आधारमा हुने नियुक्तिले विश्वविद्यालयकाे सुधार हुन सकेन : चन्द्र भण्डारी
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा भण्डारीले मुलुकका विश्वविद्यालयलाई अनुसन्धानमुलक बनाउनुपर्ने भए पनि राजनीतिक भागबण्डका आधारमा हुने नियुक्तिका कारण विश्वविद्यालयमा कुनै सुधार हुन नसकेको बताए।
काठमाडाैं, असार ६ : नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा हुने नियुक्तिले शिक्षामा कुनै परिवर्तन गर्न नसक्ने बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा भण्डारीले मुलुकका विश्वविद्यालयलाई अनुसन्धानमुलक बनाउनुपर्ने भए पनि राजनीतिक भागबण्डका आधारमा हुने नियुक्तिका कारण विश्वविद्यालयमा कुनै सुधार हुन नसकेको बताए।
उनले कति अस्पताल खोल्ने, खोल्न दिने कि नदिने भन्नेमा नै अल्झेर बस्न नहुने भन्दै दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने उल्लेख गरे। उनले जग्गा बेचेर आफ्ना छोराछोरीलाई पढाउन बाहिर पठाउने प्रवृतिलाई अन्त्य गर्नुपर्ने धारणा राखे।
भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरे। वर्षौदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको बताउँदै उनले आवश्यक क्रिकेट मैदान बनाउन बजेटको व्यवस्था मिलाउन माग गरेका हुन् ।
‘क्रिकेट ग्राउण्ड त बनाइदेऊ। कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौं भन्छौ। एकैचोटी बनाई दिउ न । बजेट छुट्टयाई दिऊ ने तिनका लागि। जसले तिमीलाई पहिचान दिएको छ। त्यसकारण हामीले या कुरालाई पनि बुझनु पर्छ,’ उनले भने।
सांसद भण्डारीले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका लागि खेल मैदान बनाउने कुरामा खुलेर अघि बढन सक्नुपर्ने बताए। उनले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताए।
त्यस्तै सांसद अमेरश कुमार सिंहले सानो देशमा १०–१२ वटा विश्वविद्यालय भएपनि गुणस्तरिय शिक्षामा कुनै योगदान पुराउन नसकिएको बताए। विश्वविद्यालयलाई आफ्ना मान्छे भर्ति गर्ने ठाँउ बनाउनुभन्दा एउटै विश्वविद्यालयलाइ पूर्वाधारयुक्त बनाएर गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्ने उनले बताए।











