इलिप्स छात्रबासका वार्डेनविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगको तयारी
सापकोटालाई मात्र प्रतिवादी बनाएर बुधबार प्रहरी वृत्त, लैनचौरले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो।
काठमाडौं, असार ६ : सोह्रखुट्टेस्थित इलिप्स स्कुलको छात्रवासमा भएको विद्यार्थी मृत्यु प्रकरणमा वार्डेन रायन भन्ने रामप्रसाद सापकोटाविरुद्ध आत्महत्या दुरुत्साहनमा सजायको मागसहित प्रहरीले सरकारी वकिलसमक्ष प्रतिवेदन बुझाएको छ।
सापकोटालाई मात्र प्रतिवादी बनाएर बुधबार प्रहरी वृत्त, लैनचौरले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो।
पक्राउ परेका विद्यालयका प्रिन्सिपल दीर्घहरि दाहाल र शिक्षक पुरुषोत्तम अधिकारी भने छुटेका छन्। मुद्दा चलाउन प्रश्ताव गरिएका वार्डेन सापकोटाले प्रहरीमा कसैलाई यातना नदिएको भन्दै इन्कारी बयान दिएको जनाइएको छ।
सरकारी वकीलले फाइलको अध्ययन गरेर मुद्दाको बिषयमा अन्तिम निर्णय लिने छ। इलिप्स छात्रवासको पहिलो तलामा गत जेठ १७ गते राति १२ वर्षीय विद्यार्थी अभिषेक तामाङ मृत अवस्थामा फेला परेका थिए।
घटनापछि परिवारले बार्डेन, प्रिन्सिपल र अर्का शिक्षक पुरुषोत्तम अधिकारीले ट्वाइलेट सफा गर्न लगाउने, कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने जस्ता कार्य गरेको बताउँदै प्रहरीमा किटानी जाहेरी दिएका थिए। उक्त घटनापछि तीनैजना पक्राउ परेका थिए।











