Kathmandu Press

राहदानी वितरण कार्यलाई थप सहज बनाउने प्रयास भइरहेको छ : मन्त्री साउद

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री साउदले समयमा नै राहदानी छपाइ प्रक्रिया अघि बढाएर सहज रुपमा राहदानी वितरण गर्ने प्रयास भइरहेको जानकारी दिएका छन्।
राहदानी वितरण कार्यलाई थप सहज बनाउने प्रयास भइरहेको छ : मन्त्री साउद

काठमाडौं, असार ६ : परराष्ट्रमन्त्री एनपी साउदले राहदानी वितरण कार्यलाई थप सहज बनाउने प्रयास भइरहेको बताएका छन्।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री साउदले समयमा नै राहदानी छपाइ प्रक्रिया अघि बढाएर सहज रुपमा राहदानी वितरण गर्ने प्रयास भइरहेको जानकारी दिएका छन्।

उनले मासिक औसत १ लाख २० हजार राहदानी वितरण भइरहेको र अहिले चार महिनाका लागि पुग्ने राहदानी मौज्दात रहेको बताए। ५० लाख राहदानी छाप्नका लागि टेन्डर भएपनि सरकार आफैले छाप्ने भनेर २० लाख मात्रै छापिएको अवस्थामा सुरक्षण मूद्रण प्रेसको विवादका कारण राहदानी छाप्ने कार्य रोकिएको उनले बताए।

अन्तर्राष्ट्रिय मापदण्ड कार्यविधि भित्र रहेर सुरक्षित रुपमा छाप्नुपर्ने भएकाले छपाई प्रक्रियामा केही समय लाग्ने मन्त्री साउदको भनाइ छ। त्यस्तै मन्त्री साउदले अर्थ मन्त्रालयबाट ओएनएम सर्वेका लागि सहमति लिएको भएपनि कर्मचारी संख्या नबढ्ने गरी सर्वे गर्नु भनेपछि समस्या भएको जिकिर गरे।

बैठकमा समिति सदस्यहरुले राहदानी वितरणमा हुनेगरेको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। समिति सदस्य एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले राहदानीको छपाइको प्रक्रियामा समयको ध्यान दिन सुझाव दिए। ठेक्का पट्टामा मूल्यबृद्धि गर्ने काम हुने भएकाले समयमा नै छपाइ गरे मूल्य कम हुन सक्नेतर्फ ध्यान दिन उहाले आग्रह गरे। उनले राहदानी वितरणमा बिचौलियाको प्रभावलाई अन्त्य गर्नुपर्ने बताए।

त्यस्तै समिति सदस्य वर्षमान पुनले राहदानीका बारेमा आवश्यक जानकारी जनतालाई दिनुपर्ने बताए। ५० लाख राहदानी छाप्नका लागि टेन्डर हुदा पनि २० लाख छापिदा राहदानीको अभाव हुने अवस्था पैदा भएको भन्दै उनले सरकारका तर्फबाट बेलैमा उचित व्यवस्था गर्नुपर्ने धारणा राखे। 

बैठकमा अन्य समिति सदस्यहरुले छपाई र वितरण प्रक्रियालाई पारदर्शी गर्दै नागरिकलाई सहज रुपमा राहदानी उपलव्ध गराउनुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति: १५:४४ बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्