Kathmandu Press

प्रेस काउन्सिलका पदाधिकारीले दिए प्रधानन्यायाधीश कार्कीलाई बधाई   

‘मैले कानुनव्यवसाय गर्दा होस् या मानवाधिकारकर्मीका रुपमा काम गर्दा प्रेस र बारको अधिकारका लागि लडेको थिएँ। अहिले प्रेस र बारबाटै रिवार्ड पाएको छु,’ कार्कीले भने, ‘मेरो छोटो कार्यकाल छ, तर पनि प्रेस स्वतन्त्रताका लागि अझै आफ्नो भूमिका आइपरे यसका लागि प्रतिबद्ध छु।’
प्रेस काउन्सिलका पदाधिकारीले दिए प्रधानन्यायाधीश कार्कीलाई बधाई   

काठमाडौं, असार ६ : प्रेश काउन्सिलका पदाधिकारीले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर बधाई र शुभकामना दिएका छन्। 

प्रधानन्यायाधीशको च्याम्बर सर्वोच्च अदालतमा शुभकामना भेटघाट भएको थियो। भेटमा नवनियुक्त कार्कीले छोटो समय भएपनि आफ्नो कार्याकालमा न्यायिक स्वच्छता कायम राख्न उल्लेखनीय कदम चाल्ने भनाई राखेका थिए।

कार्कीले प्रेस जगत र बार एशोसिएसन प्रधानन्यायाधीश नियुक्तिका लागि नलडेको भए आजको दिन आउन मुस्किल पर्ने बताउँदै आफूले उक्त पक्षलाई कहिले भुल्न नसक्ने भनाई पनि राखे। नेपाली प्रेस र बार एशोसिएसनको सक्रिय भूमिकाका कारण लामो समयदेखि न्यायलयमा रहेको नेतृत्वको अन्योल हटेको पनि उनले बताए। 

एक प्रसंगमा न्यायालय अझै आर्थिक रूपमा स्वायत्त हुन नसकेको भनाई कार्कीले काउन्सिल पदाधिकारीसँग राखेका थिए। कुल राष्ट्रिय बजेटको एक प्रतिशत पनि छुट्टिन नसकेकोमा सबै पक्ष गम्भीर हुनुपर्ने कार्कीको भनाइ थियो।

कतिपय अदालतका भवनहरू पुराना र जीर्ण छन्, कतिपय अदालतहरू चल्नै नसक्ने अवस्थामा रहेको तथा कतिपय अदालतमा भीडभाडको अवस्थामा पाकेटमारको समस्या समेत रहेको बताउँदै यसलाई व्यवस्थित गर्न पनि प्रेशले आवाज उठाइदिनुपर्ने अवस्था कार्कीले औंल्याए। 

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वमा पुगेको टोलीसँगको कुराकानीमा सर्वोच्च अदालत लामो समयदेखि कार्यबाहक प्रधानन्यायाधीशको नेतृत्वको भरमा चल्नुपरेको कारण न्यायिक काम कारबाहीलाई प्रभावित बनाएको भनाई समेत कार्कीले राखेका थिए। अदालतको स्वतन्त्रतालाई जोगाइराख्न प्रेस जगतले अतुलनीय सक्रियता देखाएको भन्दै प्रधानन्यायाधीश कार्कीले उच्च प्रशंसा पनि गरे। 

‘मैले कानुनव्यवसाय गर्दा होस् या मानवाधिकारकर्मीका रुपमा काम गर्दा प्रेस र बारको अधिकारका लागि लडेको थिएँ। अहिले प्रेस र बारबाटै रिवार्ड पाएको छु’ प्रधानन्यायाधीश कार्कीले भने, ‘मेरो छोटो कार्यकाल छ, तर पनि प्रेस स्वतन्त्रताका लागि अझै आफ्नो भूमिका आइपरे यस्का लागि लागि प्रतिबद्ध छु।’

काउन्सिल अध्यक्ष बस्नेतले स्वतन्त्र र सक्षम न्यायापलिकाबाट मात्र प्रेसको स्वतन्त्रता बच्ने उल्लेख बताए। न्यायालयको स्वतन्त्रता न्यायाधीशका लागि नभई आम जनतालाई बलियो बनाउन र प्रणाली बसाउनका लागि भएकाले त्यसतर्फ दुवै निकायका क्रियाकलाप केन्द्रित हुनुपर्ने भनाई बस्नेतको थियो।

प्रधानन्यायाधीश कार्कीलाई बधाई तथा शुभकामनाका लागि काउन्सिल अध्यक्ष बस्नेतको नेतृत्वमा गएको टोलीमा बोर्ड सदस्यद्धय दीपक पाण्डे र ठाकुर प्रसाद वेल्वासे, काउन्सिलका कानुनी सल्लाहकार अधिवक्ता अनन्तराज लुइटेल, काउन्सिलका निमित्त मुख्य अधिकृत दीपक खनालसहितको सहभागिता थियो। 
 

प्रकाशित मिति: १३:१९ बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्