Kathmandu Press

बझाङ दुर्घटना : जोशी र भण्डारी खतरामुक्त

उनका अनुसार घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको र होसमा भएका उनीहरू  बोल्न सक्ने अवस्थामा छन्।
बझाङ दुर्घटना : जोशी र भण्डारी खतरामुक्त

बझाङ, असार ६ : बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जिप दुर्घटनामा पर्नुभएका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेको बाँकेस्थित कोहोलपुुर मेडिकल कलेजकाका अर्थोपेडिक रेसिडेन्ट डा ब्राईन पोख्रेलले बताएका छन्।

उनका अनुसार घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको र होसमा भएका उनीहरू  बोल्न सक्ने अवस्थामा छन्। उपचारका क्रममा एमआरआई र सिटिस्क्यान गरी जाँच गर्दा दुबै जनाको पछाडिको भागको मेरुदण्डमा समस्या देखिएको डा पोख्रेलले जानकारी दिए। 

जोशीको मेरुदण्डको दुई ठाउँमा भाँचिएको छ भने भण्डारीको घाँटीको पछाडीको भागमा रहेको एक ठाउँको हड्डी दबिएको छ। उनीहरु दुवै जनाको चाँडो शल्यक्रिया गर्नुपर्ने भए पनि परिवारका कुनैपनि सदस्य अस्पतालमा नआइपुगेकाले शल्यक्रिया हुन नसकेको डा पोख्रेलले बताए। 

उनले भने,'शल्यक्रिया यही पनि गर्न सकिन्छ तर परिवारका सदस्य नआइकन हामीले गर्न मिल्दैन । उहाँहरुको सल्लाहमा हामीले शल्यक्रिया गर्ने हो।' 

जोशी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको जीप चालक हुनुन्छ भने भण्डारी अङ्गरक्षक हुनुहुन्छ। उक्त गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा पर्नुभएका मन्त्री सिंहको सोही मेडिकल कलेजमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो।

दुर्घटनामा मन्त्री पत्नी अमृता र भाउजु पर्ने जयादेवीको पनि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा हिजै बाटोमै मृत्यु भएको थियो । 

प्रदेश मन्त्री सिंह चढेको सुपप्र ९१००१ झ ४८० नम्बरको जिप  डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा  धारछडस्थित  सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

प्रकाशित मिति: १२:२६ बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्