योग र ध्यान अब स्कुलबाटै पढाइन्छः प्रधानमन्त्री

काठमाडौं, असार, ६ः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले योग र ध्यानको विषयलाई स्कुल देखिनै पाठ्यक्रममा समावेश गर्ने उद्देश्य राखेको बताएका छन् । आज काठमाडौंमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग र ध्यानको महत्व र परम्परालाई आत्मसाथ गरेर नै सरकारले यस्तो निर्णय लिएको बताए ।
उनले यो निर्णयले आध्यात्मिक चिन्तनको महत्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नेपाल योग सम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरका अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना रहेको पनि बताए ।
प्रधानमन्त्री दाहालले योगमाया आयुर्वेद विश्वविद्यालयले भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्ने विश्वास व्यक्त गरे । उनले योग शारीरिक अभ्यासमात्रै नभइ निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली र जीवनपद्धति भएको बताए ।
उनले योग सम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा पर्याप्त ध्यान दिने हो भने नेपालमा योग पर्यटनमा गुणात्मक विकास गर्न सकिने बताए ।











