पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण
पोखरा, असार ६: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
सिचुवान एयरलाइन्समा पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु आएका हुन् । सोही फ्लाइटमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डलसमेत छ ।
यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ ।
१ जनवरी २०२३ बाट सन्चालनमा आएको पोखरा विमानस्थलले ६ महिना पछि पहिलो अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो । विमानस्थल उदघाटनको दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरेको थियो ।