Kathmandu Press

सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको निधन 

उक्त दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको थियो।
सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको निधन 

धनगढी, असार ५ : बझाङमा गाडी दुर्घटनामा परी घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ।

उक्त दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको थियो। मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। गाडी चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको उपचार भइरहेको छ।

Hardik ivf

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो। दुर्घटनामा निधन भएका मन्त्री सिंह बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट प्रदेश सभामा निर्वाचित भएका थिए।

२०१५ साल माघ १७ गते बझाङको तत्कालीन लुयाटामा बुबा मानबहादुर सिंह र आमा तारादेवी सिंहको कोखबाट सिंहको जन्म भएको थियो। पाण्डु प्राथमिक विद्यालय र घचाया प्राथमिक विद्यालय हुँदै सत्यवादी माध्यमिक विद्यालयबाट उनले एसएलसी गरे। 

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट बीएल गरेका सिंह २०३१ सालदेखि नै नेविसंघमा सक्रिय बनेका थिए। २०३५ सालमा उनी महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापति बने। त्यसैबेला नेविसंघको जिल्ला कार्यसमिति सचिव बन्दै २०४९ सालमा तत्कालीन लुयाटा गाउँविकास समितिको अध्यक्ष समेत भएका थिए।

उनी २०५४ अघि दुई कार्यकाल नेपाली कांग्रेसको बझाङ जिल्ला सचिव भएका थिए। २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापतिको उम्मेदवार भई पराजित भएका थिए उनी। नेपाली कांग्रेस बझाङको सभापतिमा तीन कार्यकाल जिम्मेवारी बहन गरेका थिए। सिंह पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै हाल महासमिति सदस्य समेत थिए।

२०७४ सालमा बझाङबाटै प्रतिनिधि सभा सदस्य पदको चुनाव लडे पनि हारेका सिंह २०७९ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भए। सिंह लोकतान्त्रिक यौद्धा र बझाङको समग्र विकासका लागि आवाज उठाउने लोकप्रिय नेता थिए। 

प्रकाशित मिति: १८:१८ बजे, मंगलबार, असार ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्