मेला विवादमा मेयर बालेनलाई अदालतको म्याद
अदालतले मेयर बालेनलाई बुधवार छलफलका लागि अदालतमा उपस्थित हुन भनेको छ।
काठमाडौं, असार ५ : प्रहरी लगाएर भृकुटीमण्डपमा संचालित शैक्षिक मेला रोकिएको विवादमा छलफलमा उपस्थित हुन उच्च अदालत पाटनले मंगलवार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई म्याद बुझाएको छ।
अदालतले मेयर बालेनलाई बुधवार छलफलका लागि अदालतमा उपस्थित हुन भनेको छ। ‘आजै (मंगलवार) मेयरलाई छलफलमा उपस्थितिका लागि म्याद बुझाइएको छ। बुधवार दुबै पक्षविच इजलासमा छलफलका लागि पेशी तोकिएको छ। छलफलपछि रिटमा माग गरिएको अन्तरिम आदेशको बिषयमा टुंगो लाग्ने छ।’
शैक्षिक मेला रोकिएपछि १५ करोड रुपैयाँ क्षति भएको, विद्यार्थी, प्राज्ञिक वर्ग, अभिभावक सूसुचित हुने अधिकारबाट वञ्चित भएको, प्रहरी लगाएर गैरन्यायिक हस्तक्षेप गरिएको बताउँदै मेयर बालेनलाई विपक्षी बनाएर निजी शैक्षिक संस्थाको साझा सञ्जाल (हिसान) ले आइतवार उच्च अदालत पाटनमा रिट दायर गरेको थियो।
रिटमा काठमाडौं महानगरका मेयर साहलाई क्षमा माग्न लगाएर पुनः मेला संचालन गर्न लगाउन र क्षतिपूर्ति रकम दिलाउन माग गरिएको छ। उच्च अदालतका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासमा भएको सुनुवाईपछि सोमवार मेयर बालेनलाई छलफलमा डाकिएको थियो। उक्त आदेश अनुसार मंगलवार बालेनलाई म्याद बुझाइएको हो। उक्त प्रकरणमा उच्च अदालतले महानगरसँग कारण पनि माग गरेको छ।
आयोजकले बताए अनुसार मेलामा ७५ शिक्षण संस्थाको सहभागिता रहेको छ। शिक्षा मन्त्रालयको स्वीकृति लिई सबै प्रक्रिया पुरा गरी संचालन गरिएको भए पनि प्रहरी लगाएर कार्यक्रममाथि हस्तक्षेप गरिएको भनाई हिसानको छ। उच्च अदालतमा मेयर बालेन र रिट निवेदकविचको छलफलपछि क्षतिपूर्ति र मेला संचालनको बिषयमा निर्णय लिइनेछ।
विद्यार्थीलाई लक्षित गरी गत जेठ ३१ गते ‘आठौं कान्तिपुर हिसान एडुफेयर’ मेला सञ्चालन भएलगत्तै महानगरले हस्तक्षेप गेरको थियो। शिक्षा मन्त्रालयबाट अनुमति लिई जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरलाई जानकारी दिएर मेला सुरु गरिएको भए पनि लिखित जानकारीबिना नै कर्मचारी सुरक्षाकर्मी आएर बन्द गराइएको भन्दै रिटमा उक्त कार्य रोक्न अन्तरिम आदेशको माग गरिएको छ।











