बजेट पुस्तिका सच्याएर प्रदेशको नाम राख्न सभामुखको रूलिङ
एमालेका सांसदहरु छविलाल विश्वकर्मा र रघुजी पन्तले पुस्तक नसच्चिएसम्म छलफल अघि बढ्न नसक्ने बताएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।
काठमाडौं, असार ५ : सभामुख देवराज घिमिरेले मन्त्रालगत कार्यक्रम समावेश भएको पुस्तिकाहरुमा प्रदेशको नाम राख्न सरकारलाई रूलिङ गरेका छन्।
बजेट पुस्तिकामा प्रदेशको नाम उल्लेख नभएको विषयमा बैठक अवरोध भएपछि केहीबेर बैठक स्थगित गरी दलका प्रतिनिधिहरुसँग छलफल गरेर फेरि सुरु गरेकाे संसद बैठकमा सभामुख घिमिरेले मन्त्रालयगत कार्यक्रम समावेश पुस्तिकामा प्रदेश सभाबाट पारित प्रदेशको नाम छुटेको भए तत्काल सच्याउन रूलिङ गरेका हुन्।
सहरी विकास मन्त्रालयबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश गरिएको पुस्तिकामा लुम्बिनी प्रदेशको नाम समावेश नभएपछि एमाले विरोध जनाएको थियो।
एमाले सांसद सूर्य थापाले सहरी विकास मन्त्रालयले बाँडेको पुस्तिकमा लुम्बिनी प्रदेशको नामको सट्टा प्रदेश ५ भएको भन्दै ध्यानाकर्षण गराएका थिए। उक्त मन्त्रालयको बजेटसम्बन्धी छलफलको कार्यसूचीबाट हटाउन उनले माग गरेका थिए।
त्यसपछि सभामुखले सहरी विकास मन्त्री सीता गुरुङलाई बोल्न समय दिए। मन्त्री गुरुङले त्रुटि रहेछ भने सच्याउने प्रतिबद्धता जनाए। एमालेका सांसदहरुले सच्चिएर आएपछि मात्रै छलफल गर्नुपर्ने अडान राखेका थिए। त्यसपछि सभामुखले बैठक अगाडि बढाउन खोज्दा सूर्य थापाले फेरि अवरोध जनाए।
नेपाली कांग्रेसका प्रमुखसचेतक रमेश लेखकले त्रुटिहरु हुन नहुने भए पनि भएका त्रेटि सच्याएर छलफल अघि बढाउनुपर्ने र सभामुखको रुलिङलाई मान्नुपर्ने बताएपछि एमालेका सांसदहरु छविलाल विश्वकर्मा र रघुजी पन्तले पुस्तक नसच्चिएसम्म छलफल अघि बढ्न नसक्ने बताएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।











