१५ मिनेटपछि बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित
छलफका लागि वितरण गरिएको पुस्तकमा प्रदेशको नाममा त्रुटि रहेको भन्दै एमालेले विरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
काठमाडाैं, असार ५ : १५ मिनेटपछि बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
आजको बैठकमा सहरी विकास,खानेपानी र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची थियो।
छलफका लागि वितरण गरिएको पुस्तकमा प्रदेशको नाममा त्रुटि रहेको भन्दै एमालेले विरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
एमाले सांसद सूर्य थापाले सहरी विकास मन्त्रालयले बाँडेको पुस्तिकमा लुम्बिनी प्रदेशको नामको सट्टा प्रदेश ५ भएको भन्दै ध्यानाकर्षण गराएका थिए। उक्त मन्त्रालयको बजेटसम्बन्धी छलफलको कार्यसूचीबाट हटाउन उनले माग गरेका थिए।
त्यसपछि सभामुखले सहरी विकास मन्त्री सीता गुरुङलाई बोल्न समय दिए। मन्त्री गुरुङले त्रुटि रहेछ भने सच्याउने प्रतिबद्धता जनाए। एमालेका सांसदहरुले सच्चिएर आएपछि मात्रै छलफल गर्नुपर्ने अडान राखेका थिए। त्यसपछि सभामुखले बैठक अगाडि बढाउन खोज्दा सूर्य थापाले फेरि अवरोध जनाए।
नेपाली कांग्रेसका प्रमुखसचेतक रमेश लेखकले त्रुटिहरु हुन नहुने भए पनि भएका त्रेटि सच्याएर छलफल अघि बढाउनुपर्ने र सभामुखको रुलिङलाई मान्नुपर्ने बताएपछि एमालेका सांसदहरु छविलाल विश्वकर्मा र रघुजी पन्तले पुस्तक नसच्चिएसम्म छलफल अघि बढ्न नसक्ने बताएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।











