प्रेम चलाउनेलाई आक्रमण गर्नेहरूविरुद्धको मुद्दा फिर्ता लिने निवेदन सुनुवाइ गर्न अस्वीकार
बृहत् नागरिक आन्दोलनको ब्यानरमा जिल्ला अदालत काठमाडौंबाहिर भएको प्रदर्शन भएको थियो। प्रदर्शनमा प्रेम चलाउने सहभागी थिए।
काठमाडौं, असार ५ : जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निवेदन सुनुवाइ गर्न अस्वीकार गरेको छ।
न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले पेसीमा नचढाई निवेदन सोझै इजलासमा पेस भएको भन्दैत्यसको सुनुवाइ गर्न अस्वीकार गरेको हो।
मुद्दा फिर्ता लिने तयारी भएको थाहा पाउनासाथ प्रेम चलाउनेका कानुन व्यवसायीहरु त्यसको प्रतिवाद गर्न जिल्ला अदालत पुगेका थिए। अधिवक्ताहरु स्वागत नेपाल, राधिका चौलागाईलगायतले सरकारको निर्णय प्रक्रिया कानुनसम्मत नभएको भन्दै मुद्दा फिर्ताको निवेदनमा अनुमति दिन नहुने माग गरे।
उनीहरुको मागपछि इजलासले निवेदनको सुनुवाइ नै नगरी अर्को दिन पेसी तोक्न आदेश गरेको हो।
सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसबारे सोमबार निर्णय गरेको सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा निवेदन पेस गरेको थियो। त्यो निवेदन मुद्दाको पूरक निवेदनको रुपमा पेसीमा चढेर इजलासमा पुग्नुपर्नेमा सोझै मिसिलसहितको फाइल न्यायाधीशकहाँ पुगेको थियो।











