बाढी पहिरो अपडेट : ७ जनाको मृत्यु, २९ बेपत्ता
बाढी तथा पहिरामा परी संखुवासभामा १, ताप्लेजुङमा ३, पाँचथरमा १, तनहुँ १ र नुवाकोटमा १ गरी ७ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जसमध्ये ५ पुरुष र १ जना बालिका छन् ।
काठमाडौं, असार ४ : अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरामा परी सोमबार साँझसम्म ७ जनाको मृत्यु भएको छ।
बाढी तथा पहिरामा परी संखुवासभामा १, ताप्लेजुङमा ३, पाँचथरमा १, तनहुँ १ र नुवाकोटमा १ गरी ७ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जसमध्ये ५ पुरुष र १ जना बालिका छन् ।
साथै बाढी एवं पहिरामा परी संखुवासभामा ३, ताप्लेजुङ र तनहुँमा समान २ तथा पाँचथरमा १ गरी जम्मा ८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।
बाढी पहिरामा परी संखुवासभामा २१, ताप्लेजुङमा तीन र पाँचथरमा पाँचजना गरी जम्मा २९ जना बेपत्ता अझै बेपत्ता भएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए। बेपत्ताको खोजी कार्य जारी रहेको पनि उनले बताए।
बाढी एवं पहिराका कारण ३५ घर, १० गोठ, १३ पुल, पाँच उद्योग र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ६७ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ९७ घरपरिवार विस्थापित भएका छन्।
साथै बाढी पहिराको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नाका साथै विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत प्रहरीले हटाउने कार्य गरिरहेको छ।











