हतारोमा पार्टी एकता गरेकोप्रति प्रचण्डको पछुतो
प्रचण्डले मोर्चा गठनबाट गएको भए असफल नहुने भनाइ पनि राखे। एकैपल्ट पार्टी एकता गरेकाले दुर्घटना भएको पनि उनले बताए।
काठमाडौं, असार ४ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा गठनको बेला हतारो गरेका कारण असफल भएको बताएका छन्।
प्रचण्डले मोर्चा गठनबाट गएको भए असफल नहुने भनाई पनि राखे। एकैपल्ट पार्टी एकता गरेकाले दुर्घटना भएको पनि उनले बताए। प्रचण्डले नेकपा बचाउन नसकेकोप्रति आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने पनि बताएका छन्। परिवर्तनहरु उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध यो एउटा युद्धकै घोषणा भएको भनाइसमेत उनले राखे।
‘हामीले कहाँ त्रृटि गर्यौं, ऐतिहासिक रुपले समीक्षा गरौं। सायद त्यतिबेला पार्टी एकता गर्ने हतारो पो गरेछौं कि? हामीले त्यतिबेला नै मोर्चाबाट काम सुरु गरेर छलफल गर्दै गएर एकतामा पुग्ने उद्देश्यले गएका भए सफल हुन्थ्यो कि ? यो सोच्नुपर्ने प्रश्न छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
प्रचण्डले समाजवादी मोर्चाको सफलतालाई कसैले रोक्न नसक्ने दाबी समेत गरेका छन्। मोर्चा गठन हठातमा नगरिएको भन्दै उनले नयाँ अभियानको रुपमा लैजाने पनि बताए। विगतमा अहिले जस्तै मोर्चा बनाएर विचार, सिद्धान्त र कार्यनीति मिलाउँदै गएको भए टिक्ने रहेछ भन्ने अनुभव भएको पनि उनले बताए। उनले अहिले बनेको समाजवादी मोर्चामा आवद्ध सबै दलको हैसियत स्वतन्त्र हुने समेत प्रश्ट्याएका छन्।
प्रचण्डले भने, ‘हामी अहिले समाजवादी मोर्चामा रहँदा पनि सबै पार्टी स्वतन्त्र हैसियतमा हुन्छन्। हामी अब देशलाई समाजवादी मोर्चामार्फत समृद्धि र सामाजिक न्याययुक्त देशमा लैजान्छौँ।’ मुलुकमा यतिबेला शान्ति प्रक्रिया उल्ट्याउने खेल भइरहेको बताउँदै परिवर्तन र संघीयतासहितका उपलब्धि उल्ट्याउन खोज्नेविरुद्ध समाजवादी मोर्चा डटेर उभिने भनाई प्रचण्डको थियो।











