Kathmandu Press

सरकारमा रहेकाे र संघर्ष गरिरहेको दलबीच मोर्चा बन्नु नेपालको इतिहासमै नयाँ प्रयोग : विप्लव

आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मोर्चा बनाउनु नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताए।
सरकारमा रहेकाे र संघर्ष गरिरहेको दलबीच मोर्चा बन्नु नेपालको इतिहासमै नयाँ प्रयोग : विप्लव

काठमाडौं, असार ४ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमा भएको र संघर्षमा रहेको पार्टीको बीचमा मोर्चा बन्नु नेपालको इतिहासकै नयाँ प्रयोग भएको बताए।

आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मोर्चा बनाउनु नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताए।

‘यो नेपाली राजनीतिको एउटा नयाँ मोड हो। नयाँ प्रयोग हो यो। यो नेपालको इतिहासमा कमै प्रयोग भएको छ र यसरी प्रयोग भएको छैन। सरकारमा भएको पार्टी पनि यहाँ हुनुहुन्छ र हामी जनताको बीचमा भएका, संघर्ष गरिरहेका पार्टीहरु पनि यहाँ पनि छौँ। यो एउटा संयोग हो। नेपालको इतिहासमा एउटा संयोग बन्न आइपुगेको छ,’ उनले भने, ‘७ बुँदे घोषणापत्र लिएर तपाईहरुको बीचमा उपस्थित भएका छौँ। पूर्ण आत्मविश्वासका साथ हामीले दाबी गरेका छौँ, यो देशको नेतृत्व अग्रगामीहरुले गर्ने हो। यो देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने हो। देशको नेतृत्व देशभक्त स्वाभिमानी नागरिकहरुले गर्ने हो। हामी सक्छौँ। तपाईहरुको विश्वासबाट। तपाईहरुको उत्साहबाट हामी साँच्चै नै तरंगित पनि छौँ। जिम्मेवारीबोध पनि भइरहेको छ।’

देशको राजनीति अत्यासलाग्दो परिस्थितिमा गुज्रिएका बेला देशलाई त्यसस्तो अवस्थाबाट मुक्त पार्न समाजवादी मोर्चा बनेको उनले जिकिर गरे। नेपाल अग्रगमन र पश्चगमनबीचको लडाइँमा उभिएको स्पष्ट पार्दै उनले प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउन नदिन मोर्चा सक्रिय रहने बताए।उनले अब देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने बताए।

 ‘नेपाललाई आजको परिस्थितिबाट मुक्त गर्नुपर्छ, कुनैपनि मुल्यमा आजको संकटबाट प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउन दिनुहुँदैन। कुनै पनि स्थितिमा हाम्रो देशमाथि आँखा लगाउने साम्राज्यवादीलाई स्वीकार गर्न सकिँदैन,’ उनले भने, ‘नेपालको स्वाधीनता र नेपाली जनताको अधिकारका लागि एउटा नयाँ संघर्ष, लडाइँ अगाडि बढाउनुपर्छ भन्ने सोचका साथ इतिहासमा हामीले एउटा नयाँ अभ्यासका रुपमा समाजवादी मोर्चा नेपाल अगाडि ल्याएका छौं।’

प्रकाशित मिति: १८:०८ बजे, सोमबार, असार ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्