यस्ताे छ समाजवादी माेर्चाकाे सहमतिपत्र
७ बुँदे घोषणापत्रमा आफ्नो लक्ष्यमा समाजवादको नेपाली बाटो तय गर्ने, विभेदको अन्त्य गर्ने, पिछडिएको क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नेलगायत विषय छन्।
काठमाडाैं, असार ४ : सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित चार दलको आबद्धता रहने गरी समाजवादी मोर्चा घोषणा गरिएको छ। माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समाजवादी मोर्चा बनाएका हुन्।
आज काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमबीच समाजवादी मोर्चा घोषणा गरिएको हो। त्यसक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे।
हस्ताक्षर गर्ने नेताहरुमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ थिए। सो अवसरमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी पनि सहभागी थिए।
हस्ताक्षर पछि जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले सहमति पत्र पढेर सुनाए। उनले अवधारणापत्र पढेलगत्तै अध्यक्षहरुले आफ्नो सिटबाट उठेर हातेमालो गर्दै मोर्चा अघि बढाउने ऐक्यबद्धता जनाएका थिए।
७ बुँदे घोषणापत्रमा आफ्नो लक्ष्यमा समाजवादको नेपाली बाटो तय गर्ने, विभेदको अन्त्य गर्ने, त्यसका लागि जनदबाब सिर्जना गर्ने, पिछडिएको क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपमा पछाडि पारिएका सीमान्तकृत समुदायका अधिकार प्रत्याभूत गराउनेलगायत विषय रहेका छन्।











