उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल
बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा आज सङ्खुवासभा आइपुगेका प्रधानमन्त्री दाहालले युद्धस्तरमै प्रभावित नागरिकको व्यवस्थापनको काम भइरहेको बताए।
काठमाडाैं, असार ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा आज सङ्खुवासभा आइपुगेका प्रधानमन्त्री दाहालले युद्धस्तरमै प्रभावित नागरिकको व्यवस्थापनको काम भइरहेको बताए।
तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उनले बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार र स्थानान्तरणका लागि मातहतका निकायले काम थालिसकेको बताए।
प्रधानमन्त्री दाहालले बाढीपहिरो प्रभावित र विस्थापितलाई पुनःस्थापना गर्ने, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाइने बताए। बाढीले बगाएका पक्की पुलमा तत्कालै ‘बेलिब्रिज’ राखेर आवतजावतलाई सहज बनाइने उनको भनाइ छ।
बाढीपहिरो प्रभावित क्षेत्र अनुगमन गर्न प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ हेलिकप्टरमार्फत सङ्खुवासभा आएका हुन्। यस्तै सांसद दीपक खड्का, योगेशकुमार भट्टराई, वसन्त नेम्वाङ र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की पनि बाढी प्रभावित क्षेत्रमा पुगेका छन्।
शनिबार राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २१ जना बेपत्ता र एक जनाको मृत्यु भएको छ। बाढीमा परी चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा जलविद्युत् आयोजनाका १७ मजदुर बेपत्ता भएका छन्। उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।











