शरणार्थी प्रकरणका अभियुक्त गुरुङ र महर्जनलाई सम्पत्ति शुद्धीकरणको जिम्मा
उनीहरुमाथि सरकारी वकिलको मागबमोजिम थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले सोमबार विभागको जिम्मा लगाएको हो।
काठमाडौं, असार ४ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टंकबहादुर गुरुङ र लक्ष्मी महर्जनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाइएको छ।
उनीहरुमाथि सरकारी वकिलको मागबमोजिम थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले सोमबार विभागको जिम्मा लगाएको हो। शरणार्थी प्ररकणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले १८ जना अभियुक्तमध्ये गुरुङ र महर्जनलाई धरौटीमा छाड्न आदेश दिएको थियो।
अदालतले गुरूङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख रुपैयाँ धरौटीमा तारेखमा राखेको थियो।उनीहरूले धरौटी रकम बुझाएलगत्तै थप अनुसन्धानको लागि सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइएको थियो।
भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई अदालती कारबाही सकिएपछि थप छानविनका लागि सम्पत्ति शुद्धीकरण र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउन माग थियो।
नक्कली शरणार्थी प्रकरणमा प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, पूर्व सांसद आङ्टावा शेर्पालगायत १६ जनालाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ।
उनीहरु मुद्दाको अन्तिम फैसला नहुञ्जेल केन्द्रीय कारागार सुन्धारामा थुनामै रहने छन्। यी अभियुक्तको हकमा पनि सरकारी वकील र प्रहरीले अदालतबाट छुटी जाने भएमा अख्तियार र सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाउन माग गरेको छ।











