Kathmandu Press

चुस्त र प्रभावकारी सेवा प्रवाह सरकारको प्राथमिकता : मुख्यसचिव अर्याल

नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले गुणस्तरीय सेवा प्रवाह गर्ने विषयमा सरकार संवेदनशील रहेको बताए। 
चुस्त र प्रभावकारी सेवा प्रवाह सरकारको प्राथमिकता : मुख्यसचिव अर्याल

काठमाडाैं, असार ४ : नवनियुक्त मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले गुणस्तरीय सेवा प्रवाह गर्ने विषयमा सरकार संवेदनशील रहेको बताए। 

गुणस्तरीय सेवा प्रवाहका लागि दीर्घकालीन नीतिगत तथा योजना बनाउने काम भइरहेको मुख्यसचिव डा. अर्यालको भनाइ छ। नागरिकले पाउने सेवालाई सुधार गरी गुणस्तरीय बनाउने विषय सरकारको सफलतासँग पनि जोडिएको उनले बताए। मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने भन्दै मुख्यसचिव डा अर्यालले अन्तर्राष्ट्रिय लगानीका लागि पनि पहल भइरहेको जानकारी दिए।

भेटका क्रममा चेम्बरले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउनका लागि समयबद्ध तालिका बनाएर सार्वजनिक निकायमा कडाइका साथ कार्यान्वयन गर्न सुझाव दिएको थियो ।

अन्तर सरकारी निकायबीच प्रभावकारी समन्वयमार्फत जनतासँग प्रत्यक्ष जोडिएका सेवा क्षेत्रलाई परिणाममुखी बनाउन सुझाव दिइएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए। उनले भने, 'समयबद्ध तालिका बनाएर सरकारी सेवा दिन सकियो भने जनतालाई निकै राहत हुन्छ। कर तिर्न जाँदासमेत घन्टौँ लाइन बस्नुपर्ने बाध्यतालाई तत्काल अन्य गर्ने ठोस नीतिगत व्यवस्थाको आवश्यकता छ।'

संसद्मा विचाराधीन अधिकांश आर्थिक विधेयकलाई अगाडि बढाउन सहजीकरण गरिदिन पनि चेम्बरले मुख्यसचिव डा अर्यालको ध्यानाकर्षण गराएको छ। चेम्बरले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउनुपर्नेमा जोड दिएको छ।

प्रकाशित मिति: १५:४१ बजे, सोमबार, असार ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्