महानगरपालिकाले आजदेखि काठमाडौंमा भारतीय सिनेमा चल्न नदिने
भारतीय चलचित्र आदिपुरुषमा रहेको विवादित संवाद हटाउन तीन दिनको समय दिइएको तर भारतीय फिल्ममा निर्वाध सो संवाद कायमै रहेकाले आजदेखि हलमा कुनै पनि भारतीय चलचित्र चल्न नदिने महानगरपालिकाले जनााएको हो ।
काठमाडौं, असार ४ : काठमाडौं महानगरपालिकाले आजदेखि काठमाडौं महानगरपालिकाभित्रका हलमा भारतीय सिनेमाको प्रदर्शनमा रोक लगाएको छ ।
भारतीय चलचित्र आदिपुरुषमा रहेको विवादित संवाद हटाउन तीन दिनको समय दिइएको तर भारतीय फिल्ममा निर्वाध सो संवाद कायमै रहेकाले आजदेखि हलमा कुनै पनि भारतीय चलचित्र चल्न नदिने महानगरपालिकाले जनााएको हो ।
यसअघि महानगरका मेयर बालेन शाहले उक्त चलचित्रमा रहेका संवाद हटाउन तीन दिनको समय दिएका थिए । कामकपा मेयर बालेन शाहले आजदेखि महानगरका सिनेमा हलमा हिन्दी सिनेमा चल्न नदिने जानकारी दिएका छन् ।
नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने भन्दै मेयर बालेनले भारतीय सिनेमा चल्न नदिने स्पष्ट पारेका छन् । “नेपालको संविधानको धारा ५ र ५६ को उपधारा ९६० ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।”
काठमाडौं महानगरपालिका क्षेत्रभित्र राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने उनको भनाइ छ । त्यसैले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबार (आज) देखि निषेध गरिएको उनले भनेका छन् ।












