Kathmandu Press

वाग्मती सफा बनाउन सबैको भूमिका आवश्यक छ : मन्त्री गुरूङ

उनले सरकारले बागमतीसहित काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न र सौन्दर्यकरण गर्न विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको र त्यसकालागि थप नागरिक सक्रियता र खबरदारी आवश्यक रहेको बताइन्। 
वाग्मती सफा बनाउन सबैको भूमिका आवश्यक छ : मन्त्री गुरूङ

काठमाडाैं, असार ३ : सहरी विकासमन्त्री सीता गुरूङले बागमती सफा गर्न नागरिक र सरकार सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताएकी छन्।

उनले सरकारले बागमतीसहित काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न र सौन्दर्यकरण गर्न विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको र त्यसकालागि थप नागरिक सक्रियता र खबरदारी आवश्यक रहेको बताइन्। 

शनिबार काठमाडौंका गुहेश्वरीमा निर्माण भएको ढल प्रशोधन केन्द्र र बागमती करिडोरको स्थलगत निरीक्षणपछि मन्त्री गुरूङले भनिन्, ‘बागमतीलाई सफा गर्न, सुन्दर बनाउन सरकारले यी परियोजनाहरू सञ्चालन गरेको छ। तर, बागमती अझै संङ्लो भइसकेको छैन।’

उनले थपिन्, ‘नदीमा फोहोर फ्याँक्ने, ढल बगाउने र प्रदूषित गर्ने काम यसको वरपर बसेका हामीहरूबाटै भइरहेको छ। त्यसैले बागमती सफाइका लागि नागरिकको पनि थप सक्रियता र खबरदारी आवश्यक छ।’  उनले बागमती सफाईका लागि लामो समयदेखि स्वयम्सेवी अभियान सञ्चालन भइरहेको भन्दै त्यसको प्रशंसासमेत गरिन्। 

मन्त्री गुरूङले नदीहरूमा फोहोर नफाल्ने र घरहरूबाट निस्किएको ढललाई मात्रै प्रशोधन गर्न सकेको अवस्थामा छोटो समयमै बागमतीलाई सफा र स्वच्छ बनाउन सकिने बताइन्।

‘घर घरबाट निस्किएको ढल त्यतिकै नदीमा मिसिइरहेको छ, त्यही ढललाई हामीले प्रशोधन गर्न गुहेश्वरीको यो ढल प्रशोधन केन्द्र हो, यो पहिलो र परीक्षणका लागि गरिएको नमुना परियोजनासमेत थियो,’ उनले भनिन्, ‘यसले बागमतीमा मिसिदै आएको ढललाई प्रशोधन गर्न सफल भएको छ। त्यसकारण सरकारले थप सात वटा यस्तै प्रशोधन केन्द्रहरु बनाइरहेको छ।’

उनले ती सबै प्रशोधन केन्द्रहरू निर्माण भएको अवस्थामा नदी सफाईकालागि थप मद्धत पुग्ने बताइन्। हाल गुहेश्वरीमा सञ्चालित ढल प्रशोधन केन्द्रबाट दैनिक ३ करोड २० लाख लिटर पानी प्रशोधन हुँदै आएको छ।

प्रकाशित मिति: १७:४६ बजे, आइतबार, असार ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्