Kathmandu Press

१५ करोडको क्षतिपूर्ति माग गर्दै महानगरविरुद्ध मुद्दा 

महानगरका प्रहरी लगाएर हस्तक्षेप गरिएको दाबी गर्दै मेला सञ्चालनमा भएको अवरोध खुलाउन र क्षतिपूर्ति भराउन रिटमा माग छ।
१५ करोडको क्षतिपूर्ति माग गर्दै महानगरविरुद्ध मुद्दा 

काठमाडौं, असार ३ : महानगरपालिकाले गैरन्यायिक हस्तक्षेप गरी शैक्षिक मेला रोकेको बताउँदै १५ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै निजी शैक्षिक संस्थाको साझा सञ्जालले उच्च अदालत पाटनमा रिट दायर गरेको छ। 

महानगरका प्रहरी लगाएर हस्तक्षेप गरिएको दाबी गर्दै मेला सञ्चालनमा भएको अवरोध खुलाउन र क्षतिपूर्ति भराउन रिटमा माग छ। मेलामा अवरोध गरेका कारण विद्यार्थी, प्राज्ञिक वर्ग अभिभावक सूसुचित हुने अधिकारबाट वञ्चित भएको प्रश्नसमेत अदालतसमक्ष उठाइएको छ।

काठमाडौं महानगरपालिकाले जेठ ३१ गते ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आयोजित ‘आठौं कान्तिपुर हिसान एडुफेयर’ सञ्चालनमा हस्तक्षेप गरेको थियो। स्टलहरू बन्द गराउँदा १५ करोडको क्षति भएको दाबीसहित आयोजक संस्था रिट लिएर उच्च अदालत पुगेका हुन्। 

यसैबीच मेला आयोजक हिसानसहित प्याब्सन, एन प्याब्सन, स्वास्थ्य विज्ञान तथा प्रविधि मञ्च, पोखरा विश्वविद्यालयअर्न्तगतको ओपेन, पूर्वाञ्चल विश्वविद्यालयको पियुक्यान, इकोन, स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया), निजी प्राविधिक शिक्षालय महासंघले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै बर्दीधारी प्रहरी परिचालन गरेर शैक्षिक क्षेत्रलाई त्रासपूर्ण बनाउने काम गरिएको भन्दै भर्त्सना गरेका छन्। 

‘शिक्षा मन्त्रालयबाट अनुमति, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरलाई जानकारी दिएर सुरु भएको मेला कुनै लिखित जानकारीबिना नै कर्मचारी सुरक्षाकर्मी आएर बन्द गराइयो,’ विज्ञप्तिमा उल्लेख छ । आयोजकले महानगरबाट  गैरन्यायिक हस्तक्षेप भएको भन्दै क्षमायाचना गरी आर्थिक क्षतिपूर्ति र शैक्षिक मेला सञ्चालन गर्न दिन माग गरेको छ।

मेला रोक्नुको कारण र जानकारीसमेत नदिइएको विज्ञप्तिमा जनाइएको छ। एसइई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर उक्त मेला आयोजना गरिएको थियो। मेलामा काठमाडौं विश्वविद्यालयसहित ७५ शिक्षणसंस्थाको सहभागिता रहेको जनाइएको छ। 

प्रकाशित मिति: १७:२४ बजे, आइतबार, असार ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्