भारतीय पक्षले नेपाली भूमि अनाधिकृत रुपमा गरेको जाँचबारे छानबिन गर्न माग
सांसद डा. तोसिमा कार्कीले कालोबजारी मौलाउँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
काठमाडाैं, असार ३ : सांसद डोलप्रसाद अर्यालले भारतीय पक्षले नेपालको भूमि अनाधिकृत रुपमा नापजाँच गरेको विषयमाथि सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद उनले भने, 'असार १ गते भारतीय टोलीले इन्डियन नेशनल हाइवेयले सर्वे गर्ने भन्दै कञ्चनपुरको भुजेला गड्डाचौँकी हुँदै सुक्कासालसम्मको भूभाग नापजाँच गरेको छ, सर्वेका सामानसहित आएका ती प्रतिनिधि प्राविधिक नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षामा खटिएका सुरक्षाले भने सुइँकोसमेत पाएनन्, के उनीहरुलाई जागिर खानका लागि मात्रै सिमानामा खटाइएको हो?'
सांसद तारा लामा तामाङले गएराति कोशी प्रदेशका विभिन्न जिल्लामा आएको बाढीका कारण २५ जना बेपत्ता भएको र धनजनको क्षतिप्रति दुःख व्यक्त गरे। उहाँले देशैभरिका सामुदायिक विद्यालयका कर्मचारीको जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद डा. तोसिमा कार्कीले कालोबजारी मौलाउँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सांसद दयालबहादुर शाहीले बाजुरा जिल्लामा भएको अविरल वर्षाका कारण त्यहाँका दलित समुदाय विस्थापित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए। सांसद दीलेन्द्रप्रसाद बडूले आन्दोलनरत शिक्षकका माग वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए।
सांसद दीपकबहादुर सिंहले खडेरीका कारण किसानको अन्नबाली नाश भइरहेको उल्लेख गर्दै धानको बीउ लगाउने बेलामा मलको हाहाकार भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। सांसद दामोदर पौडेल वैरागीले शिक्षा सेवा नियमावली जतिसक्दो चाँडो ल्याउन माग गरे।
सांसदहरु दुर्गा राई, दीपा शर्मा, पुष्पबहादुर शाह, पूर्णबहादुर घर्तीमगर, प्रतिमा गौतम, प्रतिक्षा तिवारी, धनबहादुर बुढा, ध्रुवबहादुर प्रधान, निशा डाँडी, प्रभु शाह, प्रमु हजारा दुसाद, प्रेमबहादुर महर्जन, प्रेम सुवाल, वासुदेव घिमिरे, विन्दावासिनी कङ्साकार, विनिता कठायत, नवलकिशोर शाह, नारायणप्रसाद आचार्य, नागिना यादव र नारायणी शर्माले नागरिकता, खानेपानी, बाढिपहिरो, अविरल वर्षा, यातायातलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।











