४० वर्ष पुरानो पसलको ब्रान्ड ३० रुपैयाँको स्वादिष्ट मोमो
काठमाडौँ, माघ २४ : टेकु चोकबाट दायाँ उकालो करिब दुईसय मिटर अघि बढेपछि एउटा सानो निलो सटरमा खाजा पसल छ। चारवटा टेवल राखिएको यो सानो पसलमा दिउसो १२ बजेद....
काठमाडौँ, माघ २४ : टेकु चोकबाट दायाँ उकालो करिब दुईसय मिटर अघि बढेपछि एउटा सानो निलो सटरमा खाजा पसल छ। चारवटा टेवल राखिएको यो सानो पसलमा दिउसो १२ बजेदेखि भीडभाड हुन्छ।
त्यो क्षेत्रका रैथाने जो कोहीले पनि यो पसल सजिलै चिन्छन्। न नाम छ, न आरमदायि टेवल कुर्सी, कसरी यो खाजा घरमा ग्राहको लर्को लाग्छ? त्यसको एउटै राज छ– सस्तोमा स्वादिष्ट परिकार।
काठमाडौंमा महङ्गाई छोइनसक्नु छ। दिउसो खाजा खाना सामान्य ठाउँमा पनि दुई सय रुपैयाँ पक]टमा बोक्नै पर्छ। तर, यो पसल सायद अपवाद होला– मोमोको मात्रै ३० रुपैयाँ। ३० रुपैयाँमा मोमो बन्छ त? यसका सञ्चालक नवराज रञ्जितकार भन्छन्, ‘कम नाफामा राम्रो खाना दिने हाम्रो उद्देश्य हो, खोइ ४० वर्षदेखि चलिरहेकै छ त।’
हुन पनि यो पसल ४० वर्ष अघि खुलेको हो। सुरुमा छोयला र कचैला बेच्ने पसलमा पछि मोमो बेच्न थालिएकाे हो। ‘२०३६ सालमा मेरो बुबाले खोलेको पसल अहिले मैले चलाईरहेको छु,’ नवराज भन्छन्, ‘बुबाले पसल खोल्दा हामी सानै थियौँ। त्यो बेलाका ग्राहक अहिले पनि हाम्रो पसलमा आउँछन्।’
यो पसलमा सुरुमा मोमोको मूल्य प्रतिप्लेट दुई रुपैया थियो। ४० वर्षमा बढेर ३० रुपैयाँ पुगेको छ। ‘सुरुआतमा दुई रुपैयाँमा लामै समय मोमो बेच्यौं,’ नवराज सम्झन्छन्, ‘‘महँगाइ बढ्दै गएपछि अहिले भने ३० रुपैयाँ बनाएका छौ।’
२०३६ काठमाडौंमा जनमत संग्रहको लागि विद्यार्थी आन्दोलन बढ्दै गएको थियो। चोक-चोकमा विद्यार्थीले तत्कालीन पञ्चायती शासनविरुद्ध कहिले मसाल जुलुस त कहिले प्रदर्शन गर्थे। त्यहिताका नवराजका बुबा रामबहादुरले यो पसल खोलेका थिए।
पसल खोलेको एक वर्षपछि आफ्नो साला बालगोपाल रञ्जितको सुझावमा मोमो बनाउन थालेको रामबहादुर बताउँछन्। ‘मेरो सालोले सिंहदरबारको क्यान्टिनमा काम गर्थ्यो, उसैले मलाई मोमो बनाउँन सिकायो,’ रामबहादुरले भन्छन्।
सस्तो खाजा पाईने पसलको रुपमा परिचित रामबहादुरको पसलमा विशेषतः पुराना र दैनिक ग्राहकहरु नै आउने गरेका छन्। त्यसैको एक उदाहरण बनेका छन्, ५४ वर्षीय फूलबहादुर तामाङ।
पसल सुरू भएदेखि नै यहिँ पसलमा खाजा खान आउने गरेको उनले बताए। ‘मलाई यो पसलमा दुई रुपैयाँमा मोमो खाएको याद छ, नवराज साउजी त सानै हुनुहुन्थ्यो,’ तामाङ भन्छन्।
दैनिक रिक्सा चलाएर गुजारा गर्दै आएका तामाङ यो क्षेत्रका जिवित इतिहास हुन्। ‘पहिला यो क्षेत्रमा खाजा पसल खासै थिएन,’ तामाङ भन्छन्, ‘तर, यो पसलमा सुरुदेखिनै सस्तो र मिठो खाजा पाइन्छ, मैले ३० वर्षदेखि यहाँनै खाजा खादै आएको छु।’
अचम्मको कुरा त यो पसलमा मोमोको मात्रै होईन, अन्य खाजाको परिकार पनि ३० रुपैयाँमै खान पाइन्छ।
संयुक्त परिवारको रुपमा बस्दै आएका रञ्जित परिवारले मोमो व्यवसायलाई आफ्नो पारिवारिक पेशा बनाएका छन्। तीन पुस्ताको उनको परिवारमा नौँ जना सदस्य छन्। यो एउटा मोमो पसलले नै जिविका चलाईरहेका रञ्जित परिवारका सबै सदस्य पसलमै काम गर्छन्।
दिउँसोको समयलाई उनीहरु ‘बिजि आवर’को रुपमा लिने गरेका छन्। अर्थात दिउँसो ग्राहकलाई सेवा दिन भ्याई नभ्याई हुन्छ। दैनिक एकसय प्लेटभन्दा बढी मोमो विक्री हुने गरेको नवराज बताउँछन्।
रञ्जितको पसलमा दैनिक आठ हजार बराबरको व्यापार हुने गरेको छ। यही पसलले उनीहरुले काठमाडौंमा एउटा घर पनि किनेका छन्। त्यहि घरमै पसल पनि सारेका छन्। र, ग्राहक पनि ४० वर्षदेखिको ब्रान्ड बनेको मोमोको स्वाद लिन त्यही पुग्छन्।