Kathmandu Press

पठनपाठन बन्द भए शिक्षक-कर्मचारीलाई कडा कारबाही गर्ने बालेनको चेतावनी 

असार ३ गतेबाट देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने जानकारी संचारमाध्यममार्फत आएको भन्दै बालेनले विद्यालयमा पठनपाठन रोकिएका शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने बताएका हुन्।
पठनपाठन बन्द भए शिक्षक-कर्मचारीलाई कडा कारबाही गर्ने बालेनको चेतावनी 

काठमाडौं, असार २ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सामुदायिक विद्यालयका पठनपाठन बन्द भए शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी सामाजिक सञ्जालमार्फत दिएका छन्। 

असार ३ गतेबाट देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने जानकारी संचारमाध्यममार्फत आएको भन्दै बालेनले विद्यालयमा पठनपाठन रोकिएका शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने बताएका हुन्। महानगरका विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्‍याउने कुनै संस्था वा कर्मचारीलाई कारबाही गरी पदबाट हटाइने भनाई मेयर बालेनको छ। 

विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेकोतर्फत उनले सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण समेत गराएका छन्। 

यस्तै, काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणाविपरीत हुने गरी कुनै पनि कार्य गर्न बन्देज गरिएको बताउँदै महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन पनि दिएका छन्। 

बालेनका अनुसार विद्यालय वन्द गर्ने शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौं महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने छ। विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्‍याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ। त्यसपछि कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ।

काठमाडौं महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुनबमोजिम कारबाही गरिनेछ। नेपाल विद्यालय कर्मचारी परिषद्ले शुक्रबार बजेटमा आफ्ना माग सम्बाेधन नभएको बताउँदे अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको थियो। परिषद्ले आफूहरुको माग सम्बोधनका लागि आइतबारदेखि विद्यालय बन्दसहितको आन्दोलनको घोषणा गरेको हो।  

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा, सुविधा, स्थायित्व लगायतको माग बजेटमा संंवोधन नभएको बताउँदै दबाबका लागि आन्देलन गर्नुपरेको भनाई परिषदको छ। आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमको बुदाँ नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषयहरु सम्बोधन गरिने भनिएको थियो। बजेटमा उक्त विषय नसमेटिएकोप्रति परिषद्को आपत्ति छ। 

गत जेठ १७ को पत्रकार सम्मेलनमार्फत ध्यानाकर्षण गरिए पनि सरकार गम्भिर नभएको परिषदले जनाएको छ। पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि  सामुदायिक विद्यालय बन्द गर्न लागिएको जनाइएको छ। सोही बिषयलाई लिएर मेयर बालेनले सामाजिक सञ्जालमार्फत शिक्षक कर्मचारीलाई कारवाहीको कडा चेतावनी दिएका हुन्। 


 

प्रकाशित मिति: १६:१३ बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्