Kathmandu Press

राजनीतिलाई सही दिशा दिन प्राज्ञिक समूहको भूमिका आवश्यक : नेता डा. कोइराला

नेता कोइरालाले मुलुकमा दण्डहीनता बढिरहेको भन्दै सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।
राजनीतिलाई सही दिशा दिन प्राज्ञिक समूहको भूमिका आवश्यक : नेता डा. कोइराला

काठमाडौं, असार २ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिलाई सही दिशा दिन प्राज्ञिक समुदायको सक्रिय भूमिका चाहिने बताए।

प्रा. डा. कुलप्रसाद कोइरालाद्वारा लिखित ‘वेदमा जीवन र जगत’ तथा ‘सिस्नाको आँठो’ को लोकार्पण गर्दै उनले राजनीतिलाई सही दिशामा डोर्याउन ‘थिङ्टयाङ्क’का रुपमा रहेका प्राध्यापकहरुले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।

‘अहिलेको राजनीतिक अवस्थालाई सुधार्न प्राध्यापकहरुको पनि उत्तिकै भूमिका चाहिने हो,’ उनले भने, ‘तर, त्यो विगतमा देखिएन, विश्वविद्यालयका प्राज्ञिक संस्थाहरुले राजनीतिलाई सही दिशामा डोर्याउन राजनीतिज्ञलाई स्वतन्त्र रुपमा खबरदारी गर्न जरुरी छ।’

नेता कोइरालाले मुलुकमा दण्डहीनता बढिरहेको भन्दै सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।

उनले भने, ‘संवैधानिक निकायमाथि पनि राजनीतिक प्रहार भइरहेको  छ। संसद्को गरिमा र मर्यादा खस्केको छ। प्रधानमन्त्रीले बोलिरहेका बेला सवाल जवाफ गरेर दोहारी खेल्ने नेपालको संसद्मा भइरहेको छ, यसले प्रजातन्त्रलाई कमजोर तुल्याउँछ।’

प्रकाशित मिति: ०७:२३ बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्