नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्वारा पदवहाली
शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका कार्कीले सर्वोच्च अदालत पुगेर पदवहाली गरेका छन् ।
काठमाडौं, असार १ : नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदवहाली गरेका छन्। शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका कार्कीले सर्वोच्च अदालत पुगेर पदवहाली गरेका छन् ।
उनले आफ्नै संयोजकत्वमा न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदनको जगमा आधारित कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्कीले प्रतिवेदनका आधारमा न्यायपालिकाको अधिकार क्षेत्रलाई पुनरावलोन गर्ने बताए। उनले भने, ‘न्याय ढिलो हुन्छ, सर्वोच्च अदालतले न्याय दिन ढिलाइ गर्छ, लामो समय लाग्छ भन्ने कुरालाई सम्बोधन गर्नका लागि प्रतिवेदनअनुसार काम गर्छौं।’
उनले न्यायाधीश र कर्मचारीको सरुवा, बढुवा, काजलगायत ठोस र वस्तुगत आधारमा देखिने गरी अघि बढाउने बताए। प्रधानन्याधीश कार्कीले न्यायाधीश नियुक्तिको सवालमा सम्बोधन गर्नका लागि न्यायाधीशको योग्यता अभिवृद्धिका लागि न्यायिक एकेडेमीमा ‘जज कोर्स’ सञ्चालनका लागि अध्ययन भइरहेको जानकारी दिए।











