टोपबहादुरको सांसद पद निलम्बन
शुक्रबार जिल्ला अदालत काठमाडौंले टोपबहादुरसहित १६ जनालाई थप अनुसन्धानका लागि थुनामा पठाउन आदेश दिएपछि उनको सांसद् पद निलम्बन भएको हो।
काठमाडाैं, असार १ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै एमाले सचिव टोपबहादुर रायामाझीको सांसद् पद निलम्बनमा परेको छ। शुक्रबार जिल्ला अदालत काठमाडौंले टोपबहादुरसहित १६ जनालाई थप अनुसन्धानका लागि थुनामा पठाउन आदेश दिएपछि उनको सांसद् पद निलम्बन भएको हो।
प्रतिनिधिसभा नियमावलीको नियम २४८ बमोजिम फौजदारी मुद्दामा पुर्पक्षमा थुनामा गएकाले टोपबहादुर सांसदबाट निलम्बनमा भएका हुन्। निलम्बनको अवधिभर पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ।
‘प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन’, नियममा २४८(३) मा उल्लेख छ ।
अभियोग पुष्टि नभएको खण्डमा थुना मुक्त भएपछि त्यसको जानकारी संसदलाई गराउनुपर्ने हुन्छ । त्यसपछि निलम्बन फुकुवाको सूचनाको जानकारी सभामुखले सदनलाई दिनेछन र निलम्बन फुकुवा हुनेछ।











