‘आदिपुरुष’बाट ‘जानकी भारतकी छोरी हुन्’ भन्ने अंश हटाउने पहलका लागि बालेनले लेखे मन्त्रालयलाई पत्र
सो फिल्म जस्ताको तस्तै प्रदर्शन भए नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने पत्रमा उल्लेख गरिएको छ।
काठमाडौं, असार १ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतीय फिल्म आदिपुरुषको विषयलाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेका छन्।
सो फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक अंश हटाउनका लागि पहल गर्न उनले मन्त्रलयलाई आग्रह गरेका छन्। सो फिल्म जस्ताको तस्तै प्रदर्शन भए नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने पत्रमा उल्लेख गरिएको छ।
बालेनले उक्त फिल्मबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको जिम्मेवारी गर्ने संरक्षण तोकेको उल्लेखसमेत गरेका छन्।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहितविपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने बालेनको भनाइ छ।
सरकारले भारतसँग कूटनीतिक पहल गरी उक्त फिल्मको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन उनको आग्रह छ। बालेनले बिहीबार एक स्टाटस लेखेरतीन दिनभित्र उक्त संवाद नहटाए काठमाडौं महानगरभित्र भारतीय फिल्मको प्रदर्शनमा रोक लगाउने उल्लेख गरेका छन्।












