Kathmandu Press

स्वास्थ्य मन्त्रालयलाई संसदीय समितिको १२ बुँदे निर्देशन जारी 

काजमा कर्मचारी बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै दुर्गम स्थानमा रिक्त रहेका दरबन्दीमा चिकित्सकहरूको तथा नर्सहरूको शीघ्र व्यवस्थापन गर्न मन्त्रालयलाई भनिएको छ।
स्वास्थ्य मन्त्रालयलाई संसदीय समितिको १२ बुँदे निर्देशन जारी 

काठमाडौं, असार १ : प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले संसदीय समितिले दुर्गममा चिकित्सक र नर्सको यथाशीघ्र व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।

काजमा कर्मचारी बस्ने प्रवृत्ति बढेको भन्दै सबैतिरबाट गुनासो आइरहेको सन्दर्भमा दुर्गम क्षेत्रमा रिक्त दरबन्दीमा डाक्टर र नर्सहरूको शीघ्र व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो। दुर्गममा डाक्टर पठाउन समितिले स्वास्थ्य मन्त्रालयलाई १२ बुँदे निर्देशन दिएको छ। 

जस अनुुसार काजमा कर्मचारी बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै दुर्गम स्थानमा रिक्त रहेका दरबन्दीमा चिकित्सकहरूको तथा नर्सहरूको शीघ्र व्यवस्थापन गर्न मन्त्रालयलाई भनिएको छ।

यस्तै, निर्माणाधीन अस्पतालहरू तोकिएको समयसीमामा सम्पन्न गरी सेवा सुचारु गर्न पनि निर्देशन भएको छ। जिल्ला अस्पतालहरूलाई सुविधा सम्पन्न ५० शैयाको अस्पताल बनाइ सहज स्वास्थ्य सेवा उपलब्ध गराउन समेत निर्देशनमा उल्लेख छ। 

हाल विरगञ्ज, बाँके लगायत अन्य ठाउँमा फैलिएको दादुरा महामारीको रोकथाम गर्न तत्काल प्रक्रिया अघि बढाउन पनि भनिएको छ। यसैगरी डाइलासिस गर्नुपर्ने मृगौला पीडितहरूको लागि सहज स्वास्थ्य पहुँच उपलब्ध गराउन आवश्यक नीतिगत एवं कार्यगत व्यवस्था गर्ने, स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र जनशक्तिको खपतवीच उचित तालमेल मिलाउन आवश्यक योजनागत, संस्थागत एवं कार्यविधिगत संयन्त्रको व्यवस्था गर्ने, विशेष बर्न सेन्टरको विकास गर्न कीर्तिपुरको बर्न अस्पतालमा जनशक्ति सम्पन्न बनाउने तथा बढ्दो आत्महत्याको कारण पहिचान गरी मृत्युदर न्यूनीकरण गर्न निरोधात्मक, उपचारात्मक र प्रवर्धनात्मक विधिको उपयोग गर्ने बुँदाहरु निर्देशनमा छन्। 

यसका अतिरिक्त दक्ष जनशक्तिको राष्ट्रिय खपत बढाइ जनशक्ति पलायनलाई निरुत्साहित गर्ने, स्वास्थ्य क्षेत्र सम्बन्धी विविध पक्षको केन्द्रीय डाटा बैंक तयार गर्ने, अस्पतालमा हुने अत्यधिक चाप र भिडभाड व्यवस्थित गर्न टोकन प्रणालि तथा ई–टिकटिङ को व्यवस्था गर्ने, प्रसुति सेवालाई सरल, सहज र पहुँचयोग्य बनाउने विषय निर्देशनमा छन्। 
 

प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, असार १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्