Kathmandu Press

शरणार्थी प्रकरणमा सरकारी वकिलले भने- यो मुद्दामा हामी जेल जान परे तयार छौं

वादी नेपाल सरकारका तर्फबाट जवाफी बहस गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता लक्ष्मण घिमिरेले आफूहरुले गलत रुपमा मुद्दा चलाएको भए जेल जान तयार रहेको बताए।
शरणार्थी प्रकरणमा सरकारी वकिलले भने- यो मुद्दामा हामी जेल जान परे तयार छौं

काठमाडौं, जेठ १ : नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा बादी र प्रतिबादी तर्फको ११ दिन लामो वहश शुक्रवार सकिँदै छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बिहानैबाट सरकारी वकिलहरुले जवाफी बहस गरिरहेका छन्।

वादी नेपाल सरकारका तर्फबाट जवाफी बहस गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता लक्ष्मण घिमिरेले आफूहरुले गलत रुपमा मुद्दा चलाएको भए जेल जान तयार रहेको बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कानुन र संविधान अनुरुप मुद्दा चलाइएको जिकिर इजलाससमक्ष गरे। 

मुद्दाका प्रतिबादी रहेका पूर्व गृह मन्त्री बालकृष्ण खाणका कानुन व्यवसायीले बिहीबार बहस गर्ने क्रममा राजनीतिक भविष्य सकाउन पूर्वाग्रह राखेर फसाउन खोजिएको जिकिर गर्दै झुट्टा मुद्दा लगाउने सरकारी वकिलाई नै छानबिन र कारबाही गर्नुपर्ने माग गरेका थिए। जवाफी बहसमा सहन्यायाधिवक्ता घिमिरेले भुटानी शरणार्थी प्रकरणमा अदालतमा मुद्दा चलाएको बिषयमा सरकारी वकील जेल जानुपरे पनि तयार रहेको बताए। 

‘प्रतिवादीका कानुन व्यवसायीले सरकारी वकिलहरुले गलत अभियोग लगाए, यिनीहरुलाई कारबही हुनुपर्छ भन्नु भएछ’, सहन्यायाधिवक्ता घिमिरेले इजलासमा भने, ‘हामीले गलत अभियोग लगाएको होइन। संविधान र कानुनले लगाएको हो। उहाँहरुलाई संविधानअनुसार मुद्दा चलाउँदा हामी जेल जानुपर्छ भने तयार छौँ श्रीमान्।’ उनले यस मुद्दामा सरकारी वकील जेल जानुपर्ने हो भने प्रतिवादीहरु निस्किने अवस्था छ त ? भन्दै प्रतिप्रश्न समेत गरे। वहशमा उनले भने, ‘यदि हामी जेल जानुपर्छ भने उहाँहरु निस्किनु हुन्छ त ? त्यसो हो भने हामी जेल जाउँला श्रीमान्। सरकारी वकिलहरु जेल जान तयार छन्।’

गत जेठ २१ गतेबाट निरन्तर थुनछेक बहस सुरु भएको  थियो। काठमाडौं जिल्ला अदालतले शुक्रबार जिल्ला सरकारी वकिलको बहस सकेपछि आदेश दिने तयारी गरेको छ। इजलासले २ बजेभित्र बहस सक्न सरकारी वकिललाई विहीबारै ‘रुलिङ’ गरिसकेको छ। जवाफी बहस सकिएपछि अभियुक्तलाई धरौटीमा छाड्ने, साधारण तारेख तोक्ने या थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने बिषयको टुंगो लाग्ने छ। नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा गत जेठ १० गते अदालतमा अभियोगपत्र दर्ता गरेको थियो। 

उक्त प्रकरणमा सरकारी वकील कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ। प्रहरीले १८ जना आरोपीलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो। फरार १२ जनालाई पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ। वहश सकिएपछि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा लगायत प्रतिबादीको थुनछेकको टुंगो लाग्ने छ। प्रहरीको अनुसन्धान प्रतिवेदन अनुरुप सरकारी वकील कार्यालयले कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको हो। 
 

प्रकाशित मिति: १३:१४ बजे, शुक्रबार, असार १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्