ऊर्जा क्षेत्रको लक्ष्य हासिल गर्न निजी क्षेत्रसँग हातेमालो गरेर सरकार अगाडि बढ्छ : मन्त्री बस्नेत
उनले विद्युतीय सवारीको चार्जिङ स्टेसन थप गर्न अभियानकै रुपमा अघि बढाउने जानकारी दिए।
काठमाडाैं, जेठ ३२ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा सरकारले लिएको लक्ष्य हासिल गर्न निजी क्षेत्रसँग हातेमालो गरेर नै अघि बढ्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान) को २१औँ साधारणसभाको उद्घाटन गर्दै मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा नीजि क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको भन्दै ऊर्जा क्षेत्रमा सरकारले लिएको लक्ष्य हासिल गर्न पनि नीजि क्षेत्रले साथ दिनुपर्ने बताएका हुन्।
उनले प्रधानमन्त्री भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा भएको सहमति सुविधारित भएकाले ऊर्जा क्षेत्रको बिकास र विस्तारमार्फत आर्थिक बिकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए। उनले बिकासका लागि ऊर्जाको नयाँ अभियान सुरु गर्न लागिएको भन्दै ऊर्जाको खपत क्षमता बृद्धि गर्न थप मद्धत पुग्ने धारणा राखे। उनले विद्युतीय सवारीको चार्जिङ स्टेसन थप गर्न अभियानकै रुपमा अघि बढाउने जानकारी दिए।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा बनेको सहमति मुलुकका लागि निकै महत्वपपूर्ण रहेको बताए। नेपालको समग्र आर्थिक अवस्थामा मुलुकको ऊर्जा क्षेत्रले महत्व राख्ने उहाको भनाइ छ।
त्यस्तै इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्र विद्युत् व्यापारका लागि तयार भइसकेकाले सरकारले बाटो खोलिदिनुपर्ने बताए। उनले मुलुकको आर्थिक समृद्धिको आधार ऊर्जा नै रहेको र सबै देशले प्राप्त स्रोतलाई अधिकतम उपयोग गरिरहेकाले नेपालले पनि आफ्नो स्रोतको उच्चतम उपयोग गर्नुपर्ने उहाले बताए।
स्वदेशी निर्माण व्यवसायीहरुलाई सहयोगी र सहजीकरण गर्ने काम सरकारले सुरु गरेको अनुभव भएको उहाको भनाइ छ । उहाले प्रधानमन्त्रीको भारत भ्रमण ऊर्जा केन्द्रित हुनु खुसीको कुरा भएको जिकिर गरे।
आचार्यले ११ हजार मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौता (पिपीए)को बाटोमा रहेको र अध्ययनको चरणमासमेत रहेका आयोजना जोड्दा २५ हजार मेगावाटका आयोजना विभिन्न चरणमा रहेको जानकारी दिए।











