Kathmandu Press

महानगरले बन्द गरायाे भृकुटीमण्डपकाे शैक्षिक मेला

महानगरले बन्द गरायाे भृकुटीमण्डपकाे शैक्षिक मेला

काठमाडौं, जेठ ३२ : काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरु भएको हिसान शैक्षिक मेला बन्द गराएको छ।

भृकुटीमण्डपस्थित मेलास्थलमा पुगेर महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइदिएका छन्। त्यसक्रममा महानगर शिक्षा विभागका अधिकारीहरु पनि त्यहाँ पुगेका थिए। 

प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।

एसइई र कक्षा १२ को नतिजा नै नआई स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाका लागि लोभ्याउने कार्य भइरहेकाले स्टल बन्द गरिएको महानगरले जनाएको छ।

एसइई र कक्षा १२ को नतिजा कुरेर बसेका विद्यार्थी अभिभावकलाई लक्षित गरेर राखिएको हिसान मेलाले आवश्यक प्रक्रिया नै पूरा नगरेको महानगरको भनाइ छ।

महानगरका प्रमुख बालेन्द्र शाहका सचिवालयका सदस्य सस्मित पोखरेलले महानगरले कलेजका बारेमा जानकारी दिन पाउने भए पनि विद्यार्थीहरुको नाम संकलन गर्ने, विद्यार्थीहरु भर्ना गर्ने, विवरण लिने काम नगर्न भनेपनि त्यसविपरीतको कार्य भएको पाइएकाले मेला बन्द गरिएको जानकारी दिए।

मेलाको बारेमा महानगरमा बिस्तृत रुपमा जानकारी आएको खण्डमा र प्रक्रिया पुराएर अघि बढे शुक्रबारबाट मेला आयोजना गर्न सहमति दिइने महानगरले जनाएको छ।

नतिजा आउनुअगाडि मेला आयोजना गर्नु अनधिकृत भएकोले स्टल हटाएएको दाबी महानगरले गरेको छ। असार ३ सम्मका लागि भनेर थालिएको मेलामा ७५ भन्दाबढी शैक्षिक संस्थाका स्टल छन्।

प्रकाशित मिति: १६:५१ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्