यस्ता छन् प्रस्तावित प्रधानन्यायाधीश कार्कीका बिचौलिया नियन्त्रण गर्ने योजना
कार्कीले बिचौलियाको गतिविधिलाई नियन्त्रण गर्न मुद्दासँग असम्बन्धित व्यक्तिहरूको अदालतमा प्रवेश निषेध गर्नेदेखि न्यायिक जनशक्तिसँगको पहुँचलाई नियन्त्रण गर्न कदम चाल्नेसम्मका कार्ययोजना प्रश्तुत गरेका छन्।
काठमाडौं, जेठ ३२ : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाइ विशेष समिति समक्ष अदालतमा विचौलिया नियन्त्रणमा पाँच वटा कार्ययोजना प्रस्तुत गरेका छन्।
कार्कीले प्रश्तुत गरेको कार्ययोजना अनुसार विचौलिया गतिविधि अदालतमा समस्याको रुपमा रहेको छ। कार्कीले बिचौलियाको गतिविधिलाई नियन्त्रण गर्न मुद्दासँग असम्बन्धित व्यक्तिहरूको अदालतमा प्रवेश निषेध गर्नेदेखि न्यायिक जनशक्तिसँगको पहुँचलाई नियन्त्रण गर्न कदम चाल्नेसम्मका कार्ययोजना प्रश्तुत गरेका छन्।
कार्की प्रधानन्यायाधीश भएपछि कार्ययोजना अनुसार बिचौलियाको रूपमा पहिचान भएका व्यक्तिहरूको गतिविधिहरूको सूक्ष्म निगरानी गरिनेछ।
यस्तै, विद्यमान कानूनबमोजिम कारबाहीको दायरामा आउनसक्ने व्यक्ति बिचौलियाको भूमिकामा संलग्न देखिएमा प्रभावकारी रूपमा कानूनी कारबाही गरिने छ।
बिचौलिया नियन्त्रणका लागि अनुसन्धानसम्बन्धी विज्ञको संलग्नतामा छुट्टै संयन्त्र गठन गरिने कार्कीको योजना छ। बिचौलियाको सूक्ष्म निगरानी गरी दोषीउपर कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने भनिएको छ।
बिचौलिया नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन बिचौलिया नियन्त्रणसम्बन्धी छुट्टै कानून र कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिने कार्ययोजना पनि कार्कीले सुनुवाई समिति समक्ष राखेका छन्।











